कीवर्डहरू -

साउनदेखि आईटी वर्कस्टेशन सञ्चालन गर्ने सरकारको तयारी, ३ वर्षका लागि निःशुल्क उपलब्ध हुने

साउनदेखि आईटी वर्कस्टेशन सञ्चालन गर्ने सरकारको तयारी, ३ वर्षका लागि निःशुल्क उपलब्ध हुने

सरकारले साउनदेखि सूचना प्रविधि (आईटी) वर्कस्टेशन सुरू गर्ने तयारी गरेको छ । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ मा बोल्दै अर्थमन्त्री वर्षमान पुनले तत्कालै वर्कस्टेशन सुरू गर्ने तयारी गरेको जानकारी दिएका हुन् । 

‘तत्काल नै वर्कस्टेशन सुरू गर्ने काठमाडौंका केही ठाउँहरू अध्ययन गरिएको छ,’ उनले भने, ‘स्टार्टअप र घरमा अप्ठ्यारो तरिकाले सानो कोठाबाट काम गरिरहेकाहरू वर्कस्टेशनमा आएर काम गर्न सक्छन् ।’

२०० देखि २५० वटासम्म अफिसहरू स्थापना गरेर काम गर्न सक्ने ठाउँ खोजिएको अर्थमन्त्री पुनको दावी छ । वर्कस्टेशनमा इन्टरनेट, विद्युत, सुरक्षा लगायतका सुविधाहरू हुनेछन् । वर्कस्टेशनमा ३ वर्षसम्मका लागि निःशुल्क उपलब्ध हुनेछ । 

बजेटमा उल्लेख भएको वर्कस्टेशन बनाउने विषय आर्थिक वर्ष २०८१-०८२ को सुरूवातदेखि नै लागु हुने उनको भनाइ छ । ‘यो बोल्ने कुरा मात्रै होइन, वर्कस्टेशन सुरू गर्ने गरी बजेटमा बोलेका हौं । सेन्टरमा ल्यापटप ल्याएर आउनुस्, वर्कस्टेशन बनाउनुस्,’ पुनले भने, ‘३ वर्षपछि करको कुरा गरौला । अहिले वर्कस्टेशनमा आएर कमाउनुस् ।’

सरकारले बुटवलको अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरको छेउमा पनि वर्कस्टेशन सेन्टर बनाउने तयारी गरेको छ ।
सुरूमा काठमाडौं र बुटवलमा वर्कस्टेशन तयार गरी त्यसपछि सातै प्रदेशमा सुरू गर्ने योजना सरकारको छ । 

बजेटमार्फत आर्थिक वर्ष २०८१-८२ लाई सूचना प्रविधि दशकको प्रस्थान विन्दु हुने समेत घोषणा भइसकेको छ । अबको १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने र १५ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ भने बागमति प्रदेशलाई सूचना प्रविधि हब बनाउने योजना समेत अगाडि सारिएको छ । 

बजेटमा राखिएका आईटीका परियोजनाहरू सरोकारवालाहरूसँगको छलफल, सुझाव र अध्ययनबाट अगाडि सारिएको पुन बताउँछन्  । ‘हामीले केही साथीलाई खुसी पार्न र ताली खान मात्रै यो सबै गरेका होइनौं,’ उनी भन्छन्, ‘अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र सूचना प्रविधि भएकाले विशेष जोड दिन खोजेका छौं ।’