कीवर्डहरू -

कुमारी बैंकले ल्यायो नेपालकै पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म, बिना धितो ५ लाखसम्म कर्जा पाइने

कुमारी बैंकले ल्यायो नेपालकै पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म, बिना धितो ५ लाखसम्म कर्जा पाइने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले आइएमएस सफ्टवेयर प्राइभेट लिमिटेडसँगको सहकार्यमा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।

कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत बिना धितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।

यो प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समयका आधारमा कर्जा योग्यता मूल्यांकन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटिक निर्णय लिन सहयोग पुर्‍याउँदै परम्परागत धितो आवश्यकता बिनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ ।

यसमार्फत प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा ५ लाखसम्मको चालु पुँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।

यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रति कुमारी बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको र यसले विशेष गरी साना तथा मझौला उद्यमीहरूलाई लाभान्वित गर्ने विश्वास गरिएको छ ।

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

साथै, यसले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।