काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा प्रकाशित सामाग्रीमा शुल्क लिएर अग्रिम पहुँच दिने सेवाविरुद्ध दुई सञ्चार संस्थाले अदालतमा मुद्दा दायर गरेका छन् । द इन्टरसेप्ट र फ्रिडम अफ द प्रेस फाउन्डेसनले बुधबार म्यानह्याटनस्थित संघीय अदालतमा दायर गरेको उजुरीमा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपद्वारा सञ्चालनमा ल्याइएको ‘ट्रुथ एपीआई’ सेवा चुनौती दिइएको हो ।
उक्त सेवामार्फत ट्रम्पसहित ट्रुथ सोसलका १० प्रभावशाली खाताका पोस्टमा सर्वसाधारणभन्दा अगाडि पहुँच लिन ग्राहकले मासिक १ लाख अमेरिकी डलरसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ । गत अगस्ट १ देखि सञ्चालनमा आएको यो सेवाले बजारमा प्रभाव पार्न सक्ने राष्ट्रपतिको पोस्टमा समेत अग्रिम पहुँच उपलब्ध गराउने उजुरीकर्ताको दाबी छ ।
उजुरीकर्ताले शुल्क तिरेर ट्रम्पका पोस्टमा विशेष पहुँच दिने व्यवस्था तत्काल रोक्न माग गरेका छन् । साथै, यस्तो सेवा सञ्चालनमा रहेसम्म ह्वाइट हाउसलाई सरकारी आधिकारिक घोषणा केवल ट्रुथ सोसलमार्फत सार्वजनिक गर्न रोक लगाउन पनि अदालतसमक्ष माग गरिएको छ ।
‘पहिलो संशोधनको उल्लंघन’
दुवै संस्थाले ट्रुथ एपीआईलाई ‘गम्भीर रूपमा भ्रष्ट’ सेवा भन्दै अमेरिकी संविधानको पहिलो संशोधनसँग समेत जोडेर प्रश्न उठाएका छन् । उनीहरूको दाबीमा राष्ट्रपतिको सार्वजनिक घोषणामा सबैलाई समान पहुँच हुनुपर्नेमा निजी ग्राहकलाई त्यस्ता सामाग्री बिक्री गरेर राष्ट्रपतिलाई आर्थिक लाभ पुर्याउनु अनुचित हो ।
उजुरीकर्ताले ट्रुथ एपीआईमार्फत सार्वजनिक सूचनालाई व्यावसायिक रूपमा विशेष पहुँचमा परिणत गरिएको आरोप लगाएका छन् । ट्रम्पको दोस्रो कार्यकालमा ट्रुथ सोसलमा प्रकाशित वा पुन: प्रकाशित करिब ९ हजारदेखि ११ हजार पोस्टमध्ये धेरै पोस्टपछि ह्वाइट हाउसले छुट्टै आधिकारिक वक्तव्य जारी नगरेको पनि उजुरीमा उल्लेख छ ।
यसअघि म्यासाचुसेट्सकी डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेन र क्यालिफोर्नियाका सिनेटर एडम सिफले ट्रुथ एपीआईले वित्तीय बजारको निष्पक्षतामा असर पार्न सक्ने भन्दै अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) लाई अनुसन्धान गर्न आग्रह गरेका थिए ।
ट्रम्प मिडियाको प्रतिवाद
मुद्दाबारे ह्वाइट हाउसले तत्काल प्रतिक्रिया दिएको छैन । ह्वाइट हाउसका केही अधिकारीलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ । यद्यपि ट्रम्प मिडिया भने मुद्दाको प्रतिवादी बनाइएको छैन ।
ट्रम्प मिडियाका प्रवक्ताले ट्रम्पसम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यम र डिजिटल प्लेटफर्मले पहिलेदेखि नै उपलब्ध गराउँदै आएको दाबी गरेका छन् । सदस्यता आधारित समाचार फिड उपलब्ध गराउने अन्य सञ्चारमाध्यम समेत रहेको उनको भनाइ छ ।
प्रवक्ताले ट्रम्पविरोधी समूहले अदालतको प्रयोग गरेर ट्रम्पलाई सेन्सर गर्न र कम्पनीका सेयरधनीलाई नोक्सान पुर्याउन खोजेको आरोप लगाएका छन् । ट्रम्प मिडियाका अन्तरिम प्रमुख कार्यकारी अधिकृत केभिनम्याकगर्नले सोमबारको आम्दानीसम्बन्धी छलफलमा ट्रुथ एपीआईका ग्राहकले अन्य प्रयोगकर्ताभन्दा ‘अत्यन्तै थोरै समय अगाडि’ समाचार प्राप्त गर्न सक्ने बताएका थिए ।
ट्रम्पसँग ४१.३ प्रतिशत हिस्सेदारी
रोयटर्सका अनुसार ट्रम्प ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपका सबैभन्दा ठूलो सेयरधनी हुन् । उनको डोनाल्ड जे ट्रम्प रिभोकेबल ट्रस्टमार्फत कम्पनीमा ४१.३ प्रतिशत हिस्सेदारी रहेको छ, जसको मूल्य करिब ९५ करोड अमेरिकी डलर रहेको बताइएको छ । ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर कम्पनीका निर्देशक हुन् र उक्त ट्रस्टको व्यवस्थापन समेत गर्छन् ।
उजुरीमा ट्रुथ एपीआईमार्फत अग्रिम पहुँच दिइने खातामा उपराष्ट्रपति जेडी भान्स, स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियर, एफबीआई निर्देशक काश पटेल तथा ह्वाइट हाउसको आधिकारिक खाता पनि रहेको उल्लेख छ । यसैबीच, रोयटर्सका अनुसार एसईसीका हालका तीनै आयुक्त रिपब्लिकन पार्टीसँग आबद्ध छन् ।
आईसीटी समाचार