काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड सेवाको बढ्दो माग पूरा गर्न अस्ट्रियामा निर्माण भइरहेको गुगलको डाटा सेन्टर स्थानीय बासिन्दाको विरोधको विषय बनेको छ ।
अपर अस्ट्रियाको क्रोनस्टोर्फमा करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाले लगानी र रोजगारी सिर्जना गर्ने दाबी गरिए पनि स्थानीयवासीले यसको वातावरणीय प्रभाव, विशेषगरी पानी र विद्युत् खपतबारे प्रश्न उठाएका छन् ।
परियोजनाको विरोधमा करिब ४०० जना लिन्जस्थित क्षेत्रीय सरकारको मुख्यालयअगाडि भेला भएका थिए । प्रदर्शनकी आयोजक क्रिस्टिना ग्रुबरले एआईको विस्तारसँगै भइरहेको डाटा सेन्टर निर्माणलाई अनियन्त्रित वृद्धि र स्रोतको बढ्दो प्रयोगसँग जोड्दै यसबारे पुनर्विचार आवश्यक रहेको बताइन् ।
क्रोनस्टोर्फ नजिकै एमस्टेटेनकी ३८ वर्षीया ग्रुबर जल–पारिस्थितिकी क्षेत्रमा समेत काम गर्छिन् । उनका अनुसार डाटा सेन्टर सञ्चालनका लागि आवश्यक पानी र ऊर्जा प्रयोगले स्थानीय जलस्रोत तथा वातावरणमा पार्न सक्ने प्रभावबारे पर्याप्त छलफल भएको छैन ।
उनले परियोजनामा पारदर्शिताको कमी रहेको आरोप लगाउँदै स्थानीय समुदायसँग उनीहरूको जलस्रोत यस्ता ठूला डाटा सेन्टरका लागि प्रयोग गर्न दिने वा नदिने विषयमा पर्याप्त परामर्श नभएको बताइन् ।
गुगलले भने परियोजनालाई अस्ट्रियाको डिजिटल पूर्वाधार विस्तारसँग जोडेको छ । कम्पनीका अनुसार डाटा सेन्टरले क्लाउड तथा एआई सेवाको बढ्दो माग पूरा गर्नुका साथै करिब १०० प्रत्यक्ष र हजारौं अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । स्थानीय दिगोपनसम्बन्धी कार्यक्रमलाई समेत सहयोग पुग्ने गुगलको दाबी छ ।
अस्ट्रियामा गुगलको पहिलो डाटा सेन्टर निर्माणको काम गत अप्रिलमा सुरु भएको हो । राजनीतिक नेतृत्व र कम्पनीका प्रतिनिधिको उपस्थितिमा शिलान्यास गरिएको परियोजनाको पहिलो चरण सन् २०२७ मा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
करिब ७० फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिने परियोजनाको कुल लागत भने गुगलले सार्वजनिक गरेको छैन । कम्पनीले यसलाई ‘महत्त्वपूर्ण लगानी’का रूपमा मात्र उल्लेख गरेको छ ।
डाटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर स्थानीय चिन्ता भने अस्ट्रियामै सीमित छैन । एआई पूर्वाधार विस्तारसँगै युरोपका विभिन्न मुलुकमा विद्युत्, पानी, भूमि प्रयोग र स्थानीय समुदायमा पर्ने प्रभावबारे विवाद बढिरहेका छन् ।
स्पेनको आरागोन क्षेत्रमा अमेजनले निर्माण गर्न लागेको ठूलो डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाले कानुनी प्रक्रिया अघि बढाएका छन् । नेदरल्यान्ड्सको एम्स्टर्डमले भूमि र विद्युत् आपूर्तिसम्बन्धी चिन्ताका कारण नयाँ डाटा सेन्टर निर्माणमा प्रतिबन्ध लगाएको छ । डेनमार्कले समेत विद्युत् ग्रिडमा बढ्न सक्ने दबाबलाई ध्यानमा राख्दै नयाँ डाटा सेन्टरलाई ग्रिड जडानमा न्यून प्राथमिकता दिएको छ ।
युरोपमा डाटा सेन्टरको संख्या अमेरिकाको तुलनामा कम भए पनि एआई र क्लाउड कम्प्युटिङको मागसँगै नयाँ केन्द्र निर्माणको योजना तीव्र बनेको छ । यसले डिजिटल पूर्वाधार विस्तारसँगै त्यसका लागि आवश्यक ऊर्जा र पानीको व्यवस्थापनलाई पनि प्रमुख बहसको विषय बनाएको छ ।
गुगलले आफ्ना डाटा सेन्टरहरू विश्वकै ऊर्जा–दक्ष केन्द्रमध्ये पर्ने बताउँदै आएको छ । तर आलोचकहरूका अनुसार उच्च ऊर्जा दक्षता भएपनि ठूलो क्षमताका डाटा सेन्टरले समग्रमा अत्यधिक विद्युत् तथा पानी खपत गर्न सक्छन् ।
क्रोनस्टोर्फ परियोजनाको पहिलो चरणले मात्र वार्षिक १.३१ टेरावाट–आवरसम्म विद्युत् खपत गर्न सक्ने सञ्चारमाध्यमका रिपोर्टमा उल्लेख छ । यो परिमाण करिब ३ लाख ७५ हजार घर परिवारको वार्षिक विद्युत् खपतबराबर हुने बताइएको छ ।
यसरी एआई पूर्वाधार विस्तारले डिजिटल अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गरिरहेको भए पनि त्यसका लागि आवश्यक भूमि, ऊर्जा र पानीको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न युरोपका विभिन्न देशमा थप पेचिलो बन्दै गएको छ ।
आईसीटी समाचार