सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशित गरी सूचीकरण नभएका सामाजिक सञ्जाललाई ३० दिनभित्र सूचीकरण हुन अल्टिमेटम दिएको हो ।
सूचनामा भनिएको छ, ‘‘नेपालभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखित बाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०५० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नुहुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
निर्देशिका आइसकेपछि अहिलेसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रालिको नाममा वीटक मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा रहेका छन् ।
तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यहोरा समेत जानकारी दिइएको छ ।
सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) मा सूचीकृत नभएका सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था गरिएको छ ।