कीवर्डहरू -

नाइमा एक्स्पोमा चार दिनमै एक लाखभन्दा बढी दर्शक, शनिबार आइतबार अझ विशेष आकर्षण

नाइमा एक्स्पोमा चार दिनमै एक लाखभन्दा बढी दर्शक, शनिबार आइतबार अझ विशेष आकर्षण

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा धेरै अवलोकनकर्ता पुगेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ ।

बिदाका दिन अझ बढी भीड हुने अनुमान गर्दै नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विशेष गरी पार्किङ व्यवस्थापनमा ध्यान दिएको जनाएको छ ।

नाइमा एक्स्पोमा दैनिक औसत २५ हजार र मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने आयोजकको अनुमान थियो । तर सुरुवाती दिनमै अपेक्षाभन्दा बढी भीड देखिएको छ ।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पो सुरु भएको पहिलो चार दिनमै भृकुटीमण्डप क्षेत्रका खुला स्थान तथा नेपाल पुलिस क्लब भवनका दुवै तला अवलोकनकर्ताले भरिएका छन् । भीड बढेसँगै पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेपछि बिदाका दिनका लागि थप व्यवस्था गरिएको उनले बताए ।

एक्स्पोको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो स्थल खुल्ने समय बिहान ११ बजे भएपनि त्यसअघि नै अवलोकनकर्ता गेटमा पुग्ने गरेका छन् । बिहान १० बजेदेखि नै भृकुटीमण्डपमा अवलोकनकर्ताको लाइन देखिन थालेको उनले बताए ।

चार दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता
एक्स्पोमा चौथो दिनसम्म १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन् । उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारले एक्स्पो अवलोकन गरेका थिए । चौथो दिन भने ३१ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन् ।

अवलोकनकर्ताको संख्या अपेक्षाभन्दा बढेपछि आयोजकले आगामी शनिबार र आइतबार अझ ठूलो भीड व्यवस्थापन गर्न तयारी थालेको हो । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।

विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै ग्राहकलाई आकर्षित गरिरहेका छन् । एउटै स्थानमा धेरै ब्रान्ड र मोडल उपलब्ध भएकाले उपभोक्तालाई आफूले खोजेको सवारीसाधन तुलना गर्न सहज भएको छ ।

विद्युतीय सवारीमा विशेष आकर्षण
एक्स्पोमा विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन् । नेपालमा पहिलोपटक प्रवेश गरेका केही ब्रान्डसहित नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् ।

दुईपाङ्ग्रे सवारी साधनका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ । विशेष गरी महँगा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधनमा युवाको आकर्षण देखिएको आयोजकले जनाएको छ । अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनः बिक्री मूल्यबारे चासो राखिरहेका छन् ।

छुटदेखि सहुलियत कर्जासम्म
ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले सवारीसाधन खरिदमा छुट तथा अन्य सुविधा उपलब्ध गराएका छन् । केही कम्पनीले एक वर्षको बिमा, एक वर्षको सवारी कर, नि:शुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा दिएका छन् ।

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि एक्स्पोस्थलबाटै सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जासम्बन्धी जानकारी दिइरहेका छन् । अहिलेसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् ।

‘ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङ’मा छलफल
एक्स्पोअन्तर्गत सञ्चालन भइरहेको ‘नाइमा मोबिलिटी संवाद’मा शुक्रबार ‘टेक्निकल : ब्याट्री रिसाइकल एन्ड इथानोल ब्लेन्डिङ इन फ्युल’ विषयमा छलफल भएको छ ।

लक्ष्मी ग्रुपका महाप्रबन्धक दीपक थपलियाले सहजीकरण गरेको छलफलमा भेइकल फिटनेस टेस्ट सेन्टरका वरिष्ठ डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठ, म्यानेजमेन्ट एन्ड होमोलोगेसन विज्ञ प्रा. डा. बलराज भनोट, लोहम क्लिनटेक प्रालि भारतका बिजनेस पार्टनरसिप एजीएम जतिन मक्कर, अटोमोबाइल उद्योग तथा मोबिलिटी क्षेत्रका विज्ञ आकाश गोल्छा, एसोसिएसन फर अटोमोबाइल एन्ड मोबिलिटी–जाम नेपालका निवर्तमान अध्यक्ष सागर गजुरेल तथा रिब्याटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत करण खुराना सहभागी थिए ।

यसअघि बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा छलफल भएको थियो । बुधबार ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा लर्निङ सेसन सञ्चालन गरिएको थियो ।

एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) : मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल गरिएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ ।

साउन ३१ सम्म चल्ने
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । विद्युतीय कार, ई-स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा नयाँ प्रविधिमा आधारित सवारीसाधन मुख्य आकर्षण बनेका छन् ।

एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक, रेडबुल पावर्डबाई, बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स, राइड पार्टनरमा पठाओ नेपाल तथा हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं रहेका छन् ।

त्यस्तै मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक, को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती तथा व्यवस्थापन पार्टनरमा मिडिया स्पेस सोलुसन्सलगायतका संस्थाको सहकार्य रहेको छ ।