कीवर्डहरू -

पूँजीबजारमा पारदर्शिता बढाउन नयाँ व्यवस्था, राष्ट्रिय परिचय नम्बर बिना खाता नखुल्ने

पूँजीबजारमा पारदर्शिता बढाउन नयाँ व्यवस्था, राष्ट्रिय परिचय नम्बर बिना खाता नखुल्ने

काठमाडौं । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ । पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यका साथ यो व्यवस्था लागू गर्न लागिएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार साउन १ गतेपछि डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

साथै, हाल सञ्चालनमा रहेका डिम्याट खाताको केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । सीडीएससीका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या तीव्र रूपमा बढ्दै गएको छ । 

यससँगै लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्न, दोहोरो खाता तथा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न र तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको हो ।

कम्पनीले यो व्यवस्थाले लगानीकर्ताको विवरण प्रमाणीकरणलाई थप सहज बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानीलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

सीडीएससीले सम्बन्धित सबै लगानीकर्तालाई समयमै राष्ट्रिय परिचय नम्बर प्राप्त गरी आवश्यक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।