कीवर्डहरू -

यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य

यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य

काठमाडौं । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकीकृत डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत नागरिकहरूले अब राष्ट्रिय परिचयपत्र, नागरिक एप र मोबाइल नम्बरको प्रयोग गरी विभिन्न यातायात सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।

यातायात व्यवस्था विभागले सेवा प्रवाहलाई सरल बनाउन नागरिक एप, राष्ट्रिय परिचयपत्र प्रणाली तथा मोबाइल सेवा प्रदायकका प्रणालीबीच एकीकरण गरेको जनाएको छ । यससँगै आवेदन भर्दा सेवाग्राहीका व्यक्तिगत विवरण नागरिक एपबाट स्वत: (अटो फिल) भरिने व्यवस्था गरिएको छ, जसले आवेदन प्रक्रिया छिटो र सहज बनाउने विश्वास गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल ठेगाना प्रयोग गरी व्यक्तिगत विवरण अद्यावधिक गर्न तथा नयाँ आवेदन फाराम भर्न सक्नेछन् । भविष्यमा विदेशमा रहेका नेपालीले समेत इमेलमार्फत ओटीपी प्राप्त गरेर यातायातसम्बन्धी सेवा लिन सक्ने व्यवस्था गर्ने तयारी गरिएको विभागले जनाएको छ ।

यसैबीच विभागले सातै प्रदेशका सेवाग्राहीका लागि छुट्टाछुट्टै अनलाइन आवेदन पोर्टल सञ्चालनमा ल्याएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले आफ्नो प्रदेशअनुसारको edlvrs पोर्टलमार्फत आवश्यक सेवाका लागि आवेदन दिन सक्नेछन् ।

विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि डिजिटल प्रमाणीकरण, स्वत: विवरण भर्ने सुविधा र अनलाइन सेवा पहुँच थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसले सेवाग्राहीलाई कार्यालयमा पटक पटक धाउनुपर्ने झन्झट कम गर्नुका साथै यातायातसम्बन्धी सेवा प्रवाहलाई अझ छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।