काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब च्याटबाटै इन्स्टाग्राम रिल्स छनोट गरेर सेयर गर्न सक्ने सुविधा पाउने भएका छन् । मेटा कम्पनीले एन्ड्रोइड एपमा नयाँ सर्टकटको परीक्षण गरिरहेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले च्याटको अट्याचमेन्ट मेनुबाटै इन्स्टाग्राम रिल्स छानेर साथीभाइ तथा परिवारका सदस्यलाई पठाउन सक्नेछन् ।
हाल कुनै रिल्स सेयर गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा गएर भिडियो खोज्नुपर्ने वा ह्वाट्सएपको मिडिया पिकर प्रयोग गर्नुपर्ने हुन्छ । नयाँ सुविधाले यो प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ । अहिले यो सुविधा सीमित एन्ड्रोइड बिटा प्रयोगकर्ताका लागि परीक्षणका रूपमा उपलब्ध गराइएको छ ।
प्रविधिसम्बन्धी वेबसाइट WABetaInfo का अनुसार ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करण 2.26.42.9 मा रिल्स सेयर गर्ने नयाँ सर्टकट देखिएको हो । यो अपडेट गुगल प्ले स्टोरमार्फत उपलब्ध छ । यद्यपि, बिटा संस्करण प्रयोग गर्ने सबैले यो सुविधा पाइसकेका छैनन् ।
च्याटको अट्याचमेन्ट मेनुमा रिल्सको छुट्टै बटन
नयाँ सुविधाअन्तर्गत ह्वाट्सएपको च्याट अट्याचमेन्ट मेनुमा इन्स्टाग्राम रिल्सका लागि छुट्टै बटन राखिनेछ । उक्त बटनमा ट्याप गरेपछि प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम गतिविधिमा रहेका हालै हेरिएका, सेभ गरिएका र लाइक गरेका रिल्स हेर्न सक्नेछन् ।
तीमध्ये आफूले चाहेको रिल्स छनोट गरी सिधै ह्वाट्सएप च्याटमा सेयर गर्न सकिनेछ । यसले पहिले इन्स्टाग्राम खोलेर मन परेको भिडियो पुन: खोज्नुपर्ने झन्झट कम गर्नेछ ।
ह्वाट्सएप र इन्स्टाग्राम खाता लिंक गर्नुपर्ने
यो सुविधा प्रयोग गर्न ह्वाट्सएप खातालाई मेटाको अकाउन्ट्स सेन्टरसँग लिंक गर्नुपर्नेछ । खाता लिंक गरेपछि मात्र च्याटको अट्याचमेन्ट मेनुमा रिल्सको नयाँ सर्टकट देखिने व्यवस्था गरिएको छ ।
आफ्नो ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक खाता अलग-अलग राख्न चाहने प्रयोगकर्ताले खाता लिंक नगरी पनि यी एप प्रयोग गर्न सक्नेछन् । तर, खाता लिंक नगरेको अवस्थामा ह्वाट्सएप च्याटमा रिल्स सेयर गर्ने नयाँ बटन उपलब्ध हुने छैन ।
अहिले पनि रिल्स सेयर गर्न सकिने
ह्वाट्सएपमा हाल पनि इन्स्टाग्राम तथा फेसबुकका स्टोरी, पोस्ट र रिल्स सेयर गर्न सकिन्छ । तर, त्यसका लागि प्रयोगकर्ताले मिडिया पिकर खोलेर सम्बन्धित सामाग्री खोज्नुपर्ने हुन सक्छ ।
नयाँ सुविधाले इन्स्टाग्राममा प्रयोगकर्ताले हालै हेरेका, लाइक गरेका वा सेभ गरेका रिल्सलाई एउटै ठाउँबाट हेर्न र छनोट गर्न सहज बनाउनेछ । यसबाट भिडियो सेयर गर्ने प्रक्रिया छोटो र सुविधाजनक हुने अपेक्षा गरिएको छ ।
सबै प्रयोगकर्ताले कहिलेदेखि पाउँछन् ?
ह्वाट्सएपले हाल एन्ड्रोइड बिटा संस्करण 2.26.42.9 प्रयोग गर्ने सीमित प्रयोगकर्तामाझ यो सुविधाको परीक्षण गरिरहेको छ । उक्त अपडेट इन्स्टल गरेकै आधारमा सबै प्रयोगकर्ताले रिल्सको बटन देख्न पाउने निश्चित छैन, किनकि कम्पनीले यो सुविधा चरणबद्ध रूपमा उपलब्ध गराइरहेको छ ।
ह्वाट्सएपले सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि यो सुविधा सार्वजनिक गर्ने मिति घोषणा गरेको छैन । त्यस्तै, आईफोन प्रयोगकर्ताका लागि यो सुविधा कहिले उपलब्ध हुन्छ भन्नेबारे पनि हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
आईसीटी समाचार