कीवर्डहरू -

ओपनएआईले कर्सरसँगको सम्झौता तोड्ने, मस्क-अल्टम्यान विवाद फेरि चर्कियो

ओपनएआईले कर्सरसँगको सम्झौता तोड्ने, मस्क-अल्टम्यान विवाद फेरि चर्कियो

काठमाडौं । ओपनएआईले स्पेसएक्सअन्तर्गत रहेको कोडिङ प्लेटफर्म कर्सरसँगको एआई मोडलसम्बन्धी सहकार्य अन्त्य गर्ने तयारी गरेपछि साम अल्टम्यान र एलन मस्कबीचको पुरानो विवाद पुन: सतहमा आएको छ ।

ओपनएआईले कर्सरलाई आफ्ना एआई मोडल उपलब्ध गराउने सम्झौता नोभेम्बर १२, २०२६ देखि समाप्त गर्ने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार स्पेसएक्सले ओपनएआईको सेवा सर्त पालना गर्ने विषयमा पर्याप्त विश्वासको आधार नदेखिएकाले यस्तो निर्णय गरिएको हो ।

कर्सरको स्वामित्व स्पेसएक्ससँग जोडिएपछि ओपनएआईले सम्झौता रद्द गर्ने अधिकार प्रयोग गर्न लागेको हो । ओपनएआईका अनुसार स्वामित्व परिवर्तन भएपछि निश्चित अवधिभित्र सम्झौता अन्त्य गर्न सकिने प्रावधान यसअघिको सम्झौतामै रहेको थियो ।

यो निर्णयले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र स्पेसएक्सका प्रमुख एलन मस्कबीचको विवादलाई थप बल दिएको छ । दुवैबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

मस्कले यसअघि ओपनएआईको सुरुवाती गैरनाफामूलक उद्देश्यबाट कम्पनी विचलित भएको आरोप लगाउँदै अल्टम्यान र ओपनएआईविरुद्ध मुद्दा दायर गरेका थिए । उनले कम्पनीलाई व्यक्तिगत तथा व्यावसायिक लाभका लागि प्रयोग गरिएको दाबी गरेका थिए । ओपनएआईले भने मस्कमाथि कम्पनीमाथि नियन्त्रण कायम गर्ने प्रयास गरेको आरोप लगाउँदै आएको छ ।

कर्सरसँगको सम्झौता अन्त्य गर्ने ओपनएआईको घोषणापछि मस्कले एक्समार्फत प्रतिक्रिया दिएका छन् । उनले आफूलाई यस विषयमा चासो नरहेको बताएका छन् । साथै, अल्टम्यान र ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यानप्रति अविश्वास व्यक्त गर्दै उनीहरूले ओपनएआईको मूल गैरनाफामूलक संरचना कब्जा गरेको आरोप पुनः दोहोर्‍याएका छन् ।

यसबीच कर्सरका सहसंस्थापक तथा हाल स्पेसएक्सका कार्यकारी माइकल ट्रुएलले भने समस्या समाधानका लागि ओपनएआईको टोलीसँग छलफल भइरहेको बताएका छन् । यसले सम्झौता पूर्ण रूपमा अन्त्य हुने वा दुवै पक्षबीच नयाँ सहमति बन्ने सम्भावना अझै खुला रहेको संकेत गरेको छ ।

ओपनएआईको निर्णयपछि एआई क्षेत्रमा अर्को प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिक पनि अगाडि आएको छ । एन्थ्रोपिकले कर्सरमा आफ्नो क्लाउड मोडल सञ्चालनका लागि थप कम्प्युटिङ क्षमता उपलब्ध गराउने तयारी गरेको जनाएको छ । एन्थ्रोपिकका सहसंस्थापक टम ब्राउनले यसको जानकारी दिएका हुन् ।

एन्थ्रोपिक र स्पेसएक्सबीच यसअघि नै साझेदारी रहेको अवस्थामा कर्सरलाई एन्थ्रोपिकको थप कम्प्युटिङ स्रोत उपलब्ध गराउने योजनाले एआई कोडिङ उपकरणको बजारमा प्रतिस्पर्धा अझ बढ्ने देखिएको छ ।

ओपनएआईले आफ्नो निर्णयको आधारमा मस्कका कम्पनीसँगको विगतको सम्झौता उल्लंघनसम्बन्धी अनुभवलाई समेत उल्लेख गरेको छ । कम्पनीका अनुसार ठूलो साझेदारसँग एआई प्रविधि सुरक्षित र जिम्मेवार ढंगले प्रयोग सुनिश्चित गर्न स्पष्ट सेवा सर्त तथा विशेष सम्झौता आवश्यक हुन्छ ।