कीवर्डहरू -

एआईले बनाएको फोटो भिडियो अब ह्वाट्सएपमै चिनिने

एआईले बनाएको फोटो भिडियो अब ह्वाट्सएपमै चिनिने

काठमाडौं । ह्वाट्सएपले एआईबाट बनाइएका वा सम्पादन गरिएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने भएको छ । यो सुविधा हाल आईओएसका सीमित बिटा परीक्षकका लागि उपलब्ध गराइएको छ ।

नयाँ सुविधामार्फत ह्वाट्सएप च्यानलका एडमिनले एआईको प्रयोगबाट सिर्जना वा सम्पादन गरिएका सामाग्रीमा विशेष लेबल थप्न सक्नेछन् । यसअघि ह्वाट्सएपले यस्तै सुविधा एन्ड्रोइड प्रयोगकर्ताका लागि परीक्षणमा ल्याइसकेको थियो ।

च्यानल एडमिनले अपडेटको मेनुमा रहेको ‘एआई कन्टेन्ट’ विकल्पमार्फत फोटो वा भिडियोमा उक्त लेबल थप्न सक्नेछन् । एकपटक लेबल थपिसकेपछि भने त्यसलाई हटाउन नमिल्ने बताइएको छ ।

उक्त लेबल च्यानल हेर्ने सबै प्रयोगकर्ताले देख्न सक्नेछन् । च्यानलका अन्य एडमिनलाई पनि एआई सामाग्रीको रूपमा लेबल गरिएको जानकारी उपलब्ध हुनेछ । यो सुविधा एआईबाट पूर्ण रूपमा निर्माण गरिएका वा एआईको सहयोगमा सम्पादन गरिएका फोटो तथा भिडियो दुवैमा लागू हुनेछ ।

यसमा मेटा एआई, च्याटजीपीटी र जेमिनीलगायत विभिन्न एआई उपकरण प्रयोग गरेर तयार पारिएका सामाग्री समेत समावेश हुनेछन् । ह्वाट्सएपले केही एआई सामाग्री स्वत: पहिचान गरी लेबल लगाउन सक्नेछ भने च्यानल एडमिनले आवश्यक ठानेमा आफैंले पनि सामाग्रीमा म्यानुअल रूपमा लेबल थप्न सक्नेछन् ।

केही देशमा एआईबाट सिर्जना वा परिवर्तन गरिएका सामाग्रीबारे जानकारी दिनुपर्ने कानुनी व्यवस्था रहेकाले त्यस्ता स्थानका च्यानल एडमिनलाई ह्वाट्सएपले ब्यानरमार्फत जानकारीसमेत गराउने बताइएको छ ।

यस सुविधाको मुख्य उद्देश्य एआईबाट सिर्जना गरिएका सामाग्री र वास्तविक फोटो वा भिडियोबीचको फरक छुट्याउन प्रयोगकर्तालाई सहज बनाउनु हो । हाल ‘एआई कन्टेन्ट’ लेबल सुविधा सीमित आईओएस बिटा परीक्षकमा मात्र उपलब्ध छ । 

परीक्षणको दायरा विस्तारसँगै यो सुविधा थप प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, सबै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे ह्वाट्सएपले स्पष्ट जानकारी दिएको छैन ।