कीवर्डहरू -

प्राविधिक शिक्षा क्षेत्रमा नयाँ कानुनको तयारी, मन्त्रालयले माग्यो सुझाव

प्राविधिक शिक्षा क्षेत्रमा नयाँ कानुनको तयारी, मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको नयाँ विधेयकमाथि सार्वजनिक सुझाव माग गरेको छ ।

मन्त्रालयले प्रस्तावित विधेयक आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै सरोकारवाला निकाय, विज्ञ तथा आम नागरिकबाट राय सुझाव संकलन प्रक्रिया सुरु गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार प्रस्तावित विधेयकले प्राविधिक शिक्षा, सीप विकास र श्रम बजारबीच समन्वय कायम गर्दै रोजगारी तथा उत्पादनसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ । दक्ष तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनमार्फत देशको आर्थिक विकास र रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्य विधेयकको मूल प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

यसैगरी, हाल कार्यान्वयनमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी विद्यमान कानुनी व्यवस्था खारेज गरी एकीकृत कानुनी संरचना लागू गर्ने तयारी मन्त्रालयले गरेको छ । विधेयक पारित भएपछि पाठ्यक्रम विकास, सम्बन्धन प्रणाली तथा शिक्षालय निर्धारण प्रक्रियामा नयाँ संरचना लागू हुने जनाइएको छ ।

मन्त्रालयले सम्बन्धित पक्षलाई विधेयक अध्ययन गरी आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । सार्वजनिक परामर्शबाट प्राप्त सुझावका आधारमा विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ ।