रेजरले नयाँ गेमिङ इयरबड्स सार्वजनिक गरेको छ। कम लेटेन्सी र छिटो डिभाइस स्विचिङ सुविधासहित आएका यी इयरबड्स गेमिङ अनुभवलाई अझ सुधार गर्ने उद्देश्यले डिजाइन गरिएका हुन्।
यी इयरबड्स रेजरको हाइपर इस्पिड २.४ गिगाहर्ज स्ट्रिमिङ प्लेटफर्मसँग एकीकृत छन्, जसले “गेमिङ–ग्रेड लग–फ्री” अडियो प्रदान गर्ने कम्पनीको दाबी छ। यो प्रणालीले स्मार्टफोन, ट्याब्लेट, पीसी, स्ट्रिम डेक र पीएस५ जस्ता विभिन्न डिभाइसहरूलाई सपोर्ट गर्छ। साथै, वाइ–फाइ आधारित स्ट्रिमिङ अडियो उपलब्ध नभएका डिभाइसहरूका लागि ब्लुटुथ कनेक्टिभिटी पनि दिइएको छ।
चार्जिङ केसमा समावेश डङ्गललाई युएसबी–सी मार्फत डिभाइसमा जडान गर्न सकिन्छ। यो डङ्गल वायरलेस ट्रान्समिटरको रूपमा पनि काम गर्छ। रेजरका अनुसार, प्रयोगकर्ताले वाइ–फाइ र ब्लुटुथ अडियोबीच छिटो स्विच गर्न सक्नेछन्, जुन पीसीबाट स्मार्टफोनमा संगीत सुन्न वा डिभाइस परिवर्तन गर्न उपयोगी हुन्छ।
नयाँ इयरबड्समा अघिल्लो मोडेलको तुलनामा सुधारिएको न्वाइज क्यान्सेलेसन सुविधा पनि दिइएको छ। कम्पनीका अनुसार, यसले बाहिरी आवाज कम गरेर स्पष्ट ध्वनि अनुभव दिन मद्दत गर्छ।
ब्याट्री क्षमताका हिसाबले पनि यी इयरबड्स बलिया छन्। एक पटक चार्ज गर्दा इयरबड्स १० घण्टासम्म चल्नेछन् भने चार्जिङ केसको सहयोगले कुल ४० घण्टासम्म प्रयोग गर्न सकिनेछ।
युएसबी–सी मार्फत चार्ज गर्न सकिने यो केसको अर्को विशेषता भनेको, ट्रान्समिटरले अडियो स्ट्रिम गर्दै गर्दा पनि केस चार्ज गर्न सकिने सुविधा हो। डङ्गलले चार्जिङ केस बिना पनि स्वतन्त्र रूपमा काम गर्न सक्छ।
यी इयरबड्सले पीसीमा टीएचएक्स स्पेशियल अडियो सुविधा पनि सपोर्ट गर्छन्, जसले ध्वनिलाई अझ जीवन्त र वरिपरिबाट आइरहेको जस्तो अनुभव गराउँछ।
आईसीटी समाचार