कीवर्डहरू -

साना व्यवसायलाई राहत : नेपाल राष्ट्र बैंकले बढायो डिजिटल कर्जाको पहुँच

साना व्यवसायलाई राहत : नेपाल राष्ट्र बैंकले बढायो डिजिटल कर्जाको पहुँच

काठमाडौं । अब लघु, साना तथा मझौला व्यवसायीले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन् । राष्ट्र बैंक भुक्तानी विभागले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन परिमार्जन गरेर लघु, साना तथा मझौला व्यवसायीका लागि पनि डिजिटल कर्जाको सुविधा थप गरेको हो ।

लघु, साना तथा मझौला व्यवसायीलाई पनि डिजिटल कर्जा सुविधा उपलब्ध गराउनका लागि विद्यमान कार्यविधि संशोधन गरिएको राष्ट्र बैंक भुक्तानी विभागले जनाएको छ । विभागका अनुसार अब लघु, साना तथा मझौला व्यवसायीले २ प्रकारको डिजिटल कर्जा पाउनेछन् ।

यसअनुसार अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम ५ लाख  रुपैयाँ र दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा अधिकतम १० लाख रुपैयाँसम्म रहेको छ । अल्पकालीन प्रकृतिको कर्जाको भुक्तानी अवधि १ वर्ष र दीर्घकालीन प्रकृतिको कर्जामा सम्बन्धित बैंकले आफ्नो नीतिअनुसार तोक्न सक्नेछ ।

अहिले पनि तलबी खाता हुने ग्राहकले तीन वर्षका लागि पाँच लाख रुपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन् । तलब खाता बाहेक अरू खाता हुने सर्वसाधारण ग्राहकले भने तीन वर्षका लागि दुई लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था छ ।