काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल अनुगमन प्रणाली लागू गरेकी छन् । अब मन्त्रीले आफ्नै कार्यकक्षबाटै प्रविधिको प्रयोगमार्फत नियमित रूपमा कार्यालयहरूको अवस्थाको निरीक्षण गर्न सक्ने व्यवस्था गरिएको छ ।
पछिल्लो समय मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाह सम्बन्धी गुनासाहरू बढेपछि ती समस्याको शीघ्र पहिचान र समाधानका लागि मन्त्रालयले यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
नयाँ व्यवस्थाअनुसार देशभरका मालपोत कार्यालयहरूमा भइरहेको सेवा प्रवाहको अवस्थाबारे मन्त्री रावलले प्रत्यक्ष रूपमा जानकारी लिन सक्नेछिन् । डिजिटल माध्यमबाट प्राप्त विवरणका आधारमा सेवा अवरोध, ढिलासुस्ती तथा प्राविधिक समस्याहरू तुरुन्तै पहिचान गरी आवश्यक निर्देशन दिन सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो प्रणाली कार्यान्वयनमा आएपछि सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, मालपोत कार्यालयहरूमा हुने अनियमितता र ढिलासुस्ती नियन्त्रण गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
आईसीटी समाचार