कीवर्डहरू -

सुरू भयाे ३०औँ संस्करणको क्यान इन्फाेटेक, साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा

सुरू भयाे ३०औँ संस्करणको क्यान इन्फाेटेक, साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा

३०औँ संस्करणको क्यान इन्फाेटेक सुरू भएकाे छ । काठमाडौंकाे सभागृहमा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले राेबटबाट पानसमा बत्ति बालेर इन्फाेटेककाे शुभारम्भ गरेका हुन् । 

उद्घाटन शत्रमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, नास्टका उपकुलपति दिलिप सुब्बा, पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नास आईटी अध्यक्ष सन्ताेष काेइराला लगायत विशिष्ट व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।

क्यान इन्फाेटेकलाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता कार्यक्रमले नयाँ प्रविधिकाे विकास र प्रवर्द्धनका साथै डिजिटल नेपालकाे अभियानमा सहयाेग पुग्ने बताए । 

सरकारले हालै आईटी क्षेत्रकाे विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन गरेकाे अवगत गराउँदै उनले यसकाे कार्यन्वयनका लागि निजी क्षेत्रसँग मिलेर कार्यविधि र निर्देशिका बनाउने समेत जानकारी दिए । 

यस्तै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डे क्यान महासंघले सूचना प्रविधिलाई देशव्यापी बनाउन सुरूवात देखि नै काम गरिरहेकाे बताइन् ।

निजी क्षेत्र र सरकार मिलेर प्रविधिकाे क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेकाे उनकाे भनाइ छ ।

१० वर्षमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष राेजगारी तथा ३० खर्बकाे आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खाेजेकाे समेत उनले जानकारी दिइन् । 

माघ २४ गतेदेखि सुरू भएकाे एचएमसी नेपाल क्यान इन्फाेटेक  २०२५ माघ २८ गतेसम्म सञ्चालन हुनेछ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने बताइकाे छ । 

यस पटक क्यान इन्फाटेकमै राष्ट्रिय परिचयपत्र बनाउन सक्ने व्यवस्था समेत मिलाइएकाे छ । टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकट अनलाइनबाट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था छ ।

क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहनेछन् । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । क्यान इन्फोटेक २०२५ अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम समेत हुने बताइएको छ ।

३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. (गोगोरो) तथा सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रा. लि. र अनलिमिटेड टेक्नोलोजी प्रा. लि (ज्याप) रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लि. (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।