कीवर्डहरू -

सात सिटे ‘एमजी हेक्टर टमहक ईभी’ नेपाली बजारमा सार्वजनिक

सात सिटे ‘एमजी हेक्टर टमहक ईभी’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । एमजीको नयाँ विद्युतीय एसयूभी ‘एमजी हेक्टर टमहक’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले सात सिट क्षमताको यो विद्युतीय एसयूभी शनिबार एक कार्यक्रमका बिच नेपाली बजारमा अनावरण गरेको छ ।

भारतमा उत्पादित एमजी टमहकमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ । यसले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ । एकपटकको चार्जमा ५१७ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

यसमा ९० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सुविधा छ । उक्त चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा लिन सक्ने पनि कम्पनीको दाबी छ ।

एमजीको एडाप्ट प्लेटफर्ममा आधारित टमहक ईभीको लम्बाइ ४ हजार ७४५ एमएम, चौडाइ १ हजार ८५० एमएम र उचाइ १ हजार ७७० एमएम छ । यसको ह्विलबेस २ हजार ८१० एमएम र ग्राउन्ड क्लियरेन्स २३० एमएम छ । उच्च ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकमा प्रयोग गर्न सहज हुने अपेक्षा कम्पनीले गरेको छ ।

गाडीको भित्री भागमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ । वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा उपलब्ध यस गाडीमा १० ओटा स्पिकरयुक्त इन्फिनिटी साउन्ड सिस्टम पनि राखिएको छ ।

त्यस्तै, अगाडिका सिटमा भेन्टिलेसन सुविधा, प्यानोरामिक सनरुफ, २५६ रङमा परिवर्तन गर्न सकिने एम्बियन्ट लाइटिङ र विभिन्न क्याबिन मुड उपलब्ध छन् । सुरक्षाका लागि यसमा छओटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामरा, पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सिस्टम राखिएका छन् ।

यसको उच्च भेरियन्टमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ । यसअन्तर्गत अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोलजस्ता सुविधा छन् । कम्पनीले एमजी हेक्टर टमहकको बजार मूल्य ५७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।