डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
टिकटकलाई अमेरिकामा बन्द गर्न वा बेच्न बाध्य पार्ने कानुनलाई ७५ दिनका लागि लागू नगर्न ट्रम्पले न्याय विभागलाई निर्देशन दिएका छन् ।
योसँगै अब अमेरिकीमा टिकटकमाथि कम्तिमा पनि ७५ दिन प्रतिबन्ध हुने छैन् । यसले कम्पनीलाई सम्झौता गर्न थप समय दिएको छ ।
यसअघि, कम्पनीले अमेरिकी प्रयोगकर्ताहरूको डेटा ओर्याकलद्वारा होस्ट गरिएका सर्भरहरूमा सार्नको लागि प्रोजेक्ट टेक्सास नामक एक लामो प्रयास सुरु गरेको थियो ।
ट्रम्पले सोमबार पदभार सम्हालेपछि उक्त कानुनलाई स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने वाचा गरेपछि टिकटकको सेवा पुनः सुचारु भएको थियो ।
उनले टिकटकलाई बन्द हुन नदिन मद्दत गर्ने कुनै पनि कम्पनीलाई जिम्मेवार नठहराइने प्रतिबद्धता समेत जनाए थिए । साथै, उनले अमेरिकाको ५० प्रतिशत स्वामित्व रहने संयुक्त साझेदारी प्रस्ताव गरेका थिए ।
सोमबार नै, बाइटडान्सले टिकटकलाई दीर्घकालसम्म सक्रिय राख्न अमेरिकासँग सम्झौता गर्न इच्छुक रहेको सङ्केत गरेको थियो । पहिले, यसले एपको जबरजस्ती बिक्रीमा अवरोध पुर्याउने बताएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले व्यवसाय सञ्चालन र अधिग्रहणजस्ता कामहरू कम्पनीहरूले स्वतन्त्र रूपमा बजारका सिद्धान्तहरूअनुसार निर्णय गर्नुपर्छ भन्ने विश्वास रहेको बताएका थिए ।
पहिलो कार्यकालमा, ट्रम्पले अमेरिका भित्र टिकटकलाई प्रतिबन्ध लगाउन प्रयास गरेका थिए । यस सम्बन्धमा उनले कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए, जसमा बाइटडान्सलाई अमेरिकी व्यवसाय बिक्री गर्न बाध्य पार्ने प्रयास पनि समावेश थियो । तर, त्यो प्रयास सफल भएन ।
बाइडेन प्रशासनको कार्यकालमा टिकटकमाथिको दबाब झन् बढ्यो, जहाँ पूर्व राष्ट्रपतिले गत वर्ष एउटा विधेयकमा हस्ताक्षर गर्दै टिकटकलाई बिक्री गर्न वा अमेरिकामा प्रतिबन्ध झेल्न बाध्य पारेको थियो ।