कीवर्डहरू -

अमेरिकी राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’द्वारा स:शुल्क सेवा सुरु

अमेरिकी राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’द्वारा स:शुल्क सेवा सुरु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलले वाल स्ट्रिटका उच्च गतिमा कारोबार गर्ने लगानीकर्ता तथा वित्तीय संस्थालाई लक्षित गर्दै ‘ट्रुथ एपीआई’ नामक स:शुल्क सेवा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार मासिक सदस्यता शुल्क तिर्ने ग्राहकले ट्रम्प तथा अन्य खाताबाट प्रकाशित सामाग्रीमा छिटो प्राविधिक पहुँच पाउनेछन् । यसले स्वचालित प्रणालीमार्फत जानकारी तत्काल प्राप्त गरी वित्तीय बजारमा छिटो कारोबार गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ । तर, सेवाको घोषणा लगत्तै यसलाई लिएर विभिन्न क्षेत्रबाट आलोचना सुरु भएको छ ।

आलोचकहरूले ट्रम्पका भन्सार नीति, युद्धसम्बन्धी धारणा, ब्याजदर तथा अन्य आर्थिक राजनीतिक अभिव्यक्तिले सेयर, ऋणपत्र र विदेशी विनिमय बजारमा तत्काल प्रभाव पार्ने भएकाले यस्तो सेवाले केही ग्राहकलाई अनुचित लाभ पुग्न सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले यसले सार्वजनिक पदसँग सम्बन्धित सूचनाको व्यावसायिक उपयोग र हितको द्वन्द्वसम्बन्धी बहसलाई थप चर्काउने बताएका छन् ।

यद्यपि ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले भने सबै सामाग्री सबै प्रयोगकर्ताका लागि एउटै समयमा सार्वजनिक हुने स्पष्ट पारेको छ । कम्पनीका अनुसार ‘ट्रुथ एपीआई’ले केवल प्राविधिक पहुँचलाई सहज बनाउने मात्र हो, कुनै पनि प्रयोगकर्तालाई विशेष वा अग्रिम सूचना उपलब्ध गराइने व्यवस्था छैन ।