काठमाडौं । इन्टरनेट तथा मोबाइल नेटवर्क बन्द भएका बेला नजिकका मानिसबीच सन्देश आदानप्रदान गर्न प्रयोग हुँदै आएको ‘बिटच्याट’ एप भारतको एप स्टोरबाट हटाइएको छ । भारत सरकारको निर्देशनपछि अक्टोबर ३ मा आफ्नो एप स्टोरबाट बिटच्याट हटाएको बताइएको छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध गुगल प्ले स्टोरमा पनि यो एप अहिले देखिँदैन ।
बिटच्याट सामान्य म्यासेजिङ एपभन्दा फरक तरिकाले काम गर्छ । यसका लागि मोबाइल डाटा, वाइफाइ वा इन्टरनेट कनेक्सन आवश्यक पर्दैन । नजिकै रहेका उपकरणबीच ब्लुटुथमा आधारित प्रविधिमार्फत सन्देश आदानप्रदान हुने भएकाले इन्टरनेट सेवा अवरुद्ध भएका अवस्थामा पनि यसको प्रयोग गर्न सकिन्छ ।
ट्विटरका सह-संस्थापक ज्याक डोर्सीले विकास गरेको यो एप पछिल्लो समय भारतमा भएका विरोध प्रदर्शनका क्रममा चर्चामा आएको थियो । इन्टरनेट वा मोबाइल नेटवर्क बन्द हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदर्शनकारी तथा नागरिक समूहले वैकल्पिक सञ्चार माध्यमका रूपमा यसको प्रयोग बढाएका थिए ।
सरकारको निर्देशनपछि हटाइयो
भारतीय सञ्चारमाध्यमका अनुसार इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐनको दफा ६९ ए अन्तर्गत बिटच्याट हटाउन निर्देशन दिएको थियो । दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विपक्षी दलहरूले प्रदर्शन गरिरहेका बेला एपमाथि यस्तो कदम चालिएको हो ।
यसअघि पनि भारतमा विभिन्न प्रदर्शनका क्रममा बिटच्याटको प्रयोग भएको थियो । गत जुलाईमा दिल्लीको जन्तरमन्तरमा विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूले नीट प्रश्नपत्र चुहावटको विषयलाई लिएर प्रदर्शन गर्दा बिटच्याटको प्रयोग उल्लेख्य रूपमा बढेको बताइएको थियो । त्यस समयमा सुरक्षा निकायले एपसँग सम्बन्धित गिटहब भण्डार हटाउन समेत माग गरेको रिपोर्टहरूमा उल्लेख छ ।
भारतमा अचानक बढेको थियो प्रयोग
भारतमा बिटच्याटको प्रयोग पछिल्लो समय निकै तीव्र रूपमा बढेको तथ्यांकले देखाउँछ । जुलाई १७ देखि २३ सम्म विश्वभर भएका बिटच्याट डाउनलोडमध्ये भारतको हिस्सा ८५ प्रतिशत पुगेको थियो । त्यसको अघिल्लो ३० दिनमा भने भारतबाट भएको डाउनलोडको हिस्सा करिब १ प्रतिशत मात्र थियो ।
जुलाई २३ मा भारतमा बिटच्याटका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या ३ लाख ३० हजारभन्दा बढी पुगेको थियो । इन्टरनेट तथा मोबाइल नेटवर्कमा प्रतिबन्ध लाग्ने सम्भावना भएका प्रदर्शन तथा अन्य संवेदनशील परिस्थितिमा वैकल्पिक सञ्चारको आवश्यकता बढ्दा एपको प्रयोग पनि बढेको देखिन्छ ।
पहिले नै डाउनलोड गरेकालाई भने तत्काल असर नपर्ने
एप स्टोरबाट हटाइएपछि भारतमा नयाँ प्रयोगकर्ताले बिटच्याट डाउनलोड गर्न पाउने छैनन् । यद्यपि, यसअघि नै आफ्नो उपकरणमा एप इन्स्टल गरिसकेका प्रयोगकर्ताले भने तत्काल प्रयोग गर्न नपाउने अवस्था नरहेको बताइएको छ ।
इन्टरनेट वा मोबाइल नेटवर्क पूर्ण रूपमा बन्द भएका बेला बिटच्याटले नजिकै रहेका प्रयोगकर्ताबीच सञ्चारको माध्यम उपलब्ध गराउन सक्छ । यही विशेषताका कारण नेटवर्क अवरोध हुने प्रदर्शन वा अन्य परिस्थितिमा यसको प्रयोग बढेको हो ।
डिजिटल अधिकार संस्थाको आपत्ति
भारतको एप स्टोरबाट बिटच्याट हटाइएपछि डिजिटल अधिकारसम्बन्धी संस्था ‘इन्टरनेट फ्रिडम फाउन्डेसन’ले निर्णयप्रति आपत्ति जनाएको छ । संस्थाले सूचना प्रविधि ऐनको दफा ६९ ए ले गैरकानुनी सामाग्री रोक्ने वा ब्लक गर्ने अधिकार सरकारलाई दिएपनि इन्टरनेटबिना काम गर्ने म्यासेजिङ एपलाई नै हटाउने अधिकार स्पष्ट रूपमा नदिएको तर्क गरेको छ ।
यसकारण बिटच्याट हटाउने निर्णयले इन्टरनेट स्वतन्त्रता र डिजिटल अधिकारसम्बन्धी थप प्रश्न उठाएको संस्थाको भनाइ छ ।
आईसीटी समाचार