कीवर्डहरू -

भविष्यको इन्टरनेट ‘वेब ३.०’ के हो ?

वेब ३.० मा प्रयोगकर्ताको डेटा एउटै संस्थाको अधिनमा हुँदैन, गोपनीयता बलियो हुन्छ

भविष्यको इन्टरनेट ‘वेब ३.०’ के हो ?

वेब ३.० जान्नुभन्दा अगाडि वेब १.० र वेब २.० को बारेमा बुझ्नु पर्ने हुन्छ । वेब १.० सन् १९८९ तिर सुरू भएको थियो । यसमा स्ट्याटिक टाइपको केन्टेन्ट, फोटो, टेक्स्ट हुन्थ्यो । वेब १.० मा एकतर्फी सञ्चार थियो । तर विस्तारै यो अपग्रेड भयो । इन्टरनेटको पहुँच र गती दुवैमा वृद्धि हुन थाल्यो ।

त्यसपछि सन् २००० को सुरूवाती तिर वेब २.० को विकास भएको थियो । जब फेसबुक, गूगल जस्ता प्लेटफर्म आए, अनि वेब २.० को चर्चा द्रुत गतीमा अगाडि बढ्यो ।

वेब २.० भनेको ‘टु वे’ सञ्चारको माध्यम हो । यसमा प्रयोगकर्ता र प्लेटफर्मबीच कुराकानी हुन सक्छ । वेब २.० मा प्रयोगकर्ताले खोजेको कुरा प्लेटफर्म वा कम्पनीको सर्भरमा जान्छ र फेरि उक्त सर्भरबाट जानकारी प्रयोगकर्तासामु पुग्छ।

अहिले पनि हामीले वेब २.० इन्टरनेटको प्रयोग गरिरहेका छौं । तपाई हामीले प्रयोग गर्ने सबै डिजिटल प्लेटफर्महरू वेब २.० मा आधारित छन् ।

तर वेब २.० को नराम्रो पाटो भनेको गोपनीयताको हो । यसमा हाम्रो डेटा अर्को कुनै पक्ष, व्यक्ति वा कम्पनीले पाउन थाल्यो । त्यसले गर्दा प्रयोगकर्ताको गोपनीयतामाथि डर सिर्जना भयो । यो विषयमा विश्वभर धेरै बहस र छलफल भएपछि वेब ३.० को चर्चा हुन थालेको हो ।

के हो वेब ३.० ?

वेब ३.० इन्टरनेट दुनियाँमा एउटा नयाँ युगको सुरूवात हो । अहिले विकासकै चरणमा भएपनि भविष्यमा वेब ३.० आउने निश्चित छ । पछिल्लो समय धेरै कम्पनीहरूले वेब ३.० का लागि आवश्यक पर्ने एप्लिकेसनहरू बनाउन थालिसकेका छन् । विशेष गरी वेब ३.० ले प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिएको छ ।

यसमा कुनै एउटा व्यक्तिको वा संस्थाको अधिनमा प्रयोगकर्ताको डेटा हुँदैन् । हजारौं कम्प्युटरमा प्रयोगकर्ताको डेटा स्टोर भएको हुन्छ । एउटा पनि डेटा हेरफेर गर्न ती हजारौं कम्प्युटरले त्यसलाई प्रमाणित गर्नुपर्छ । त्यसैकारण पनि यसमा प्रयोगकर्ताको स्वामित्वलाई बढी जोड दिइएको छ ।

वेब ३.० लाई ब्याक गर्ने मुख्य प्रविधि भनेको ब्लकचेन हो । ब्लकचेन प्रविधिमा डेटाबेसहरू डिसेन्ट्रलाइज्ड हुन्छन् । परम्परागत रूपमा डेटाबेस सेन्ट्रलाइज्ड हुन्छन् वा एउटा कुनै इन्टिटीको अधिनमा । तर ब्लकचेन प्रविधिमा सम्बम्धित व्यक्तिको अनुमतिबिना कुनै पनि डेटामा फेरबदल गर्न पाइदैन् । ब्लकचेन प्रविधिमा डिष्ट्रिब्यूटेड तरिकाबाट डेटाहरू स्टोर भएको हुन्छ, जहाँ विभिन्न नोड्सहरू, सर्भर वा कम्प्युटर हुन्छन् ।

एउटा कन्टेन्टमा कुनै फेरबदल गर्न खोज्दा अन्य नोड्समा पनि अल्टर भएको देखिनु पर्छ । त्यो परिवर्तन भ्यालिडेट गर्न नोड्सहरू हुन्छन् ।  धेरै जसो नोड्सले भेरिफाइ गरेपछि मात्र त्यो डेटा ब्लकचेनमा बस्छ । यसले पारदर्शी र गोपनीयतमा एकदमै बलियो बनाउँछ ।

वेब ३.० मा ब्लकचेन प्रविधि मात्र नभएर एआई, आईओटी जस्ता प्रविधि पनि सँगसँगै जोडिन्छन् । आईबीएम,अमेजन लगायतले वेब ३.० मा काम गरिरहेका छन् ।

रोजगारीको सिर्जना

जसरी वेब २.० आउँदा ग्राफिक डिजाइनर, कन्टेन्ट म्यानेजर, सोसल मिडिया ह्याडलर लगायतका लाखौं रोजगारीहरू सिर्जना भएका थिए । त्यसरी नै वेब ३.० ले धेरै रोजगारी सिर्जना गर्ने सम्भावना छ ।

वेबमा ३.० मा नयाँ तरिका ब्लकचेन डेभलपर, सोलिडिटी डेभलपर, स्मार्ट कन्ट्रयाक्ट डेभलपर, स्मार्ट कन्ट्रयाक्ट अडिटर जस्ता रोजगारी सिर्जना हुने छन् ।

वेब २.० विकाससँगै फेसबुक, अमेजन गूगल जस्ता विश्वकै ठूला कम्पनीहरूको उदय भएको थियो । वेब ३.० मा पनि  त्यसरी नै नयाँ कम्पनीहरूको उदय हुने सम्भावना छ ।

वेब ३.० र ब्लकचेन प्रविधिका लागि कसरी तयार हुने ?

वेब ३.० लाई ब्याक गर्ने मुख्य प्रविधि भनेको ब्लकचेन हो । यो वेब ३.० मा मात्र नभएर कारोबारदेखि डिजिटल ओनरसीपसम्म धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ । ब्लकचेन टेक्नोलोजी पनि ‘इभलभिङ’ छ ।

तर हामीले अहिलेदेखि यो प्रविधिलाई सिक्न सुरू गर्यौं भने त्यसले नेपाललाई एउटा नयाँ आकार दिन सक्छ । वेब ३.० र ब्लकचेन प्रविधिमा नेपाल पनि अग्रणी स्थानमा हुन सक्छ ।

ब्लकचेन प्रविधि इभलभिङ भएकाले अन्य देश र नेपालमा त्यत्ति धेरै भिन्नता छैन् । ब्लकचेन प्रविधिसँग सम्बन्धि किताबहरू, अनलाइनमा विभिन्न कोर्षहरू पनि छन् । ब्लकचेन डेभलपर बन्न सोलोडिटी, रस्ट, आर प्रोग्रामिङ ल्याङ्वेज आवश्यक पर्छ । प्रोग्रामिङ ल्याङ्वेज आउने व्यक्तिहरू पनि यता सिफ्ट हुन सक्छ ।

यो उदाउँदो क्षेत्र भएकाले यसमा राम्रो सम्भावना पनि छ । यदी कोही ब्लकचेन प्रविधि सिक्न इच्छुक हुनुहुन्छ भने भने हामीले ब्लकचेन कम्युनिटी नेपाल बनाएका छौं । त्यसबाट हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौं । त्यसमा सहभागी हुन सकिन्छ ।  केही आईटी ट्रेनिङ कम्पनीले ब्लकचेन पढाउन थालेका छन् । हामीले पनि भारतीय कम्पनीसँगको सहकार्यमा ब्लकचेन सर्टिफिकेसन कोर्ष ल्याएका छौं ।

सरकारलाई उपयोगी ब्लकचेन प्रविधि

ब्लकचेन प्रविधि सरकारलाई धेरै नै उपयोगी हुन्छ । सरकार डेटाको सबैभन्दा ठूलो उत्पादक समेत हो । सरकारसँग धेरै किसिमका डेटा हुन्छन् । त्यस्ता डेटाको गोपनीयताको लागि ब्लकचेन प्रविधि प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिमा डेटा कसले चेन्ज गर्दा यो सबै थाहा हुन्छ । कारोबारमा थर्ड पार्टीको संलग्नता हुँदैन। कारोबार सहज हुन्छ । भोटिङ, घर जग्गा दर्ता, लाइसेन्स लगायतका सेवामा ब्लकचेन प्रविधिको प्रयोग गर्न सकिन्छ ।

त्यसपछि ग्राहकलाई ‘युनिक टोकन’ दिन सकिन्छ । त्यो टोकनमा ग्राहकको सबै विवरण राखिएको हुन्छ । ग्राहकको स्वीकृत बिना कसैले पनि उसको डेटामा पहुँच पाउन सकिदैन् ।

(क्लक बी बिजनेस टेक्नोलोजीका सह-संस्थापक आचार्यसँग कुराकानीमा आधारित)