कीवर्डहरू -

एन्ड्रोइड बिटा प्रयोगकर्ताका लागि ह्वाट्सएपको ‘स्क्याम अलर्ट’ फिचर परीक्षणमा

एन्ड्रोइड बिटा प्रयोगकर्ताका लागि ह्वाट्सएपको ‘स्क्याम अलर्ट’ फिचर परीक्षणमा

काठमाडौं । मेटाले लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपमा अज्ञात सम्पर्कबाट आउने सम्भावित ठगीपूर्ण (स्क्याम) सन्देश पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्ने उद्देश्यले ‘Scam Alert’ फिचरको परीक्षण सुरु गरेको छ ।

रिपोर्टअनुसार, केही एन्ड्रोइड बिटा प्रयोगकर्ताले यो नयाँ फिचर प्रयोग गर्न पाउन थालेका छन् । ह्वाट्सएपले भर्सन 2.26.34.1 प्रयोग गरिरहेका सीमित बिटा प्रयोगकर्तामाझ यो फिचर परीक्षणका रूपमा उपलब्ध गराएको WABetaInfo ले जनाएको छ ।

डिभाइसबाटै शंकास्पद सन्देश पहिचान
यो वैकल्पिक फिचरले प्रयोगकर्ताको डिभाइसमा नै सञ्चालन हुने मेसिन लर्निङ मोडेल प्रयोग गर्छ । यसले अज्ञात सम्पर्कबाट आएका सन्देशमा स्क्यामको सम्भावना पहिचान गरी प्रयोगकर्तालाई सचेत गराउनेछ ।

सम्भावित स्क्याम पहिचान भएमा च्याटमै चेतावनी देखिनेछ । त्यसपछि प्रयोगकर्ताले सम्बन्धित व्यक्तिलाई ब्लक वा रिपोर्ट गर्न अथवा कुराकानीलाई निरन्तरता दिन सक्नेछन् । रिपोर्टअनुसार, प्रयोगकर्ताले Settings मा गएर यो फिचर आफैँ सक्रिय गर्न सक्नेछन् ।

चेतावनी च्याटमा मात्र देखिने
स्क्याम अलर्टले कुनै सन्देशलाई सम्भावित ठगीका रूपमा पहिचान गरेपछि देखाउने चेतावनी सम्बन्धित प्रयोगकर्तालाई मात्र देखिनेछ । अर्को व्यक्तिले उक्त चेतावनी देख्न पाउने छैन । यदि ह्वाट्सएपले दिएको चेतावनी गलत भएको प्रयोगकर्तालाई लागेमा उसले सम्बन्धित च्याटलाई Trusted बनाउन सक्ने सुविधा पनि रहनेछ ।

फिचरलाई थप प्रभावकारी बनाउन प्रयोगकर्ताले पछिल्ला पाँचवटा सन्देश ह्वाट्सएपसँग साझा गर्न सक्नेछन् । यसबाट फिचर सुधारका लागि आवश्यक जानकारी प्राप्त गर्ने उद्देश्य राखिएको छ ।

एन्ड–टु–एन्ड इन्क्रिप्सनमा असर नपर्ने
ह्वाट्सएपका अनुसार, Scam Alert वैकल्पिक फिचर हो र यसले ह्वाट्सएपको End-to-End Encryption मा असर गर्दैन । मेसिन लर्निङ मोडेल डिभाइसमा डाउनलोड भएर त्यहीँ सञ्चालन हुने भएकाले अज्ञात सम्पर्कबाट आएको सन्देशमा स्क्यामको सम्भावना पहिचान गर्ने काम डिभाइसबाटै हुनेछ ।

मेटाका अनुसार, सन्देशको सामाग्री स्वत: ह्वाट्सएप, मेटा वा कुनै तेस्रो पक्षलाई पठाइँदैन । हाल एन्ड्रोइड बिटा प्रयोगकर्तामाझ परीक्षणका रूपमा उपलब्ध गराइएको यो फिचर परीक्षण सफल भएपछि आगामी दिनमा थप प्रयोगकर्ताका लागि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।