काठमाडौं । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना एफटिटिएच (फाइबर टु द होम) ग्राहक संख्या ११ लाख पुगेको दाबी गरेको छ । कम्पनीका अनुसार यस उपलब्धिसँगै नेपालको एफटिटिएच बजारमा करिब ३५ प्रतिशत हिस्सा कायम गर्दै डिजिटल रूपान्तरणको यात्रामा अर्को महत्वपूर्ण कोसेढुङ्गा पार गरिएको छ ।
कम्पनीले सन् १९९५ मा इमेल सेवाबाट आफ्नो व्यवसाय सुरु गरेको थियो । त्यसयता डायल–अप, केबल र वायरलेस इन्टरनेट हुँदै सन् २०१५ देखि एफटिटिएच सेवा विस्तार गर्दै देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तार गरेको जनाएको छ ।
ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले हालै वाइफाई ६ प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ । यस प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, कम विलम्बता (लो लेटेन्सी) तथा एकैपटक धेरै उपकरण जडान हुँदा पनि प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
वर्ल्डलिंकका अनुसार हाल यसको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ । हिमाली, पहाडी र तराईका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउँदै डिजिटल पहुँच विस्तार तथा डिजिटल समावेशीकरणमा योगदान दिइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले ३१ वर्षभन्दा लामो सेवायात्रामा गुणस्तरीय सेवा, नवीन प्रविधि, सुदृढ नेटवर्क पूर्वाधार र ग्राहक केन्द्रित सेवामार्फत लाखौँ नेपालीको विश्वास जित्न सफल भएको उल्लेख गरेको छ । ११ लाख ग्राहकको उपलब्धि व्यावसायिक सफलतामात्र नभई ग्राहक, कर्मचारी र साझेदारहरूको विश्वासको प्रतिफल भएको कम्पनीको भनाइ छ ।
यस अवसरमा कम्पनीले ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नवीन प्रविधि, उत्कृष्ट सेवा गुणस्तर र उच्च ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर नेपालको डिजिटल भविष्य निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
आईसीटी समाचार