काठमाडौं । एक्सले आफ्नो एन्ड्रोइड एपमा पोस्ट सेड्युल गर्ने सुविधा थप गरेको छ । यसअघि यो सुविधा एक्सको वेबसाइट र आईओएस एपमा मात्र उपलब्ध थियो । यो सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा स्वत: प्रकाशित हुने गरी पोस्ट तयार गरेर सेड्युल गर्न सक्नेछन् ।
पोस्टमा तस्बिर तथा भिडियो समेत समावेश गर्न सकिनेछ । साथै, १८ महिनासम्म अगाडिको मिति र समय छनोट गरेर पोस्ट सेड्युल गर्न सकिनेछ । सेड्युल गरिएका पोस्टहरू प्रयोगकर्ताले पछि हेर्न, सम्पादन गर्न वा हटाउन पनि सक्नेछन् ।
एक्सले पोस्ट सेड्युल गर्ने प्रक्रिया देखाउने भिडियो समेत सार्वजनिक गरेको छ । प्रयोगकर्ताले पोस्ट तयार गर्दा तस्बिर वा भिडियो राखेर प्रकाशन हुने मिति र समय छनोट गर्न सक्नेछन् । निर्धारित समयमा पोस्ट स्वत: प्रकाशित हुनेछ ।
पोस्ट सेड्युल गरेपछि प्रयोगकर्ताले अन्य काम गर्न वा एप प्रयोग गर्न सक्नेछन् । पोस्ट प्रकाशित भएपछि एक्सले प्रयोगकर्तालाई सूचनामार्फत जानकारी दिनेछ । सेड्युल गरिएका पोस्टहरू ‘ड्राफ्ट’ खण्डमा रहनेछन् । त्यहाँबाट प्रयोगकर्ताले पोस्ट सम्पादन गर्न, प्रकाशनको मिति र समय परिवर्तन गर्न वा पोस्ट हटाउन सक्नेछन् ।
यो नयाँ सुविधासँगै एक्सको एन्ड्रोइड एपमा वेबसाइट र आईओएस एपमा उपलब्ध सुविधाहरू थप विस्तार भएका छन् । एक्सले हालै १३ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीका खातामा अभिभावकीय नियन्त्रण सुविधा पनि उपलब्ध गराएको थियो ।
यस सुविधामार्फत अभिभावकले आफ्ना सन्तानको खातासँग आफ्नो खाता जोडेर केही सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन् । त्यस्तै, एक्सले एउटै पोस्टमा समावेश गर्न मिल्ने तस्बिर तथा भिडियोको सङ्ख्यासमेत बढाएको थियो । अब प्रयोगकर्ताले एउटै पोस्टमा २० वटासम्म तस्बिर तथा भिडियो राख्न सक्नेछन् ।
आईसीटी समाचार