काठमाडौं । युट्युबले एन्ड्रोइड र IOS प्रयोगकर्ताका लागि पिक्चर–इन–पिक्चर (PiP) सुविधा विश्वभर विस्तार गर्न थालेको छ । यससँगै अब प्रिमियम नभएका प्रयोगकर्ताले पनि यो सुविधा प्रयोग गर्न पाउने भएका छन् ।
यस सुविधामार्फत प्रयोगकर्ताले भिडियो हेर्दै गर्दा एपबाट बाहिर निस्किए पनि सानो मिनी प्लेयरमा भिडियो चलिरहन्छ । युट्युब एपबाट स्वाइप अप गर्ने वा होम बटन थिच्नेबित्तिकै भिडियो स्वत: स्क्रिनको कुनामा सानो विन्डोमा चलिरहने व्यवस्था गरिएको छ ।
युट्युबका अनुसार पिक्चर–इन–पिक्चर सुविधा पहिले अमेरिकामा एन्ड्रोइड र IOS मा प्रिमियम प्रयोगकर्ताका लागि सुरु गरिएको थियो, पछि त्यहाँका सबै प्रयोगकर्तामा विस्तार गरिएको हो । कम्पनीले अमेरिकाका प्रयोगकर्ताका लागि यस सुविधामा कुनै परिवर्तन नहुने जनाएको छ ।
अमेरिकाबाहेक अन्य देशका प्रयोगकर्ताले एन्ड्रोइड र IOS मा लामो भिडियो (long-form) तथा गैर–संगीत सामाग्रीहरू मात्र PiP मोडमा हेर्न पाउनेछन् । तर प्रिमियम सदस्यहरूले भने संगीतसहित सबै प्रकारका भिडियोमा पनि पिक्चर–इन–पिक्चर सुविधा प्रयोग गर्न सक्नेछन् ।
आईसीटी समाचार