कीवर्डहरू -

Most read

पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडका लागि टिम नेपाल सम्मानित

काठमाडौं । पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाड (OWAO) मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका छ जना विद्यार्थीलाई आज नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) द्वारा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । “नेपालमा खगोल विज्ञान ओलम्पियाड कार्यक्रम” शीर्षकको उक्त कार्यक्रम कमलपोखरीस्थित रसियन हाउस इन काठमाडौंको सम्मेलन कक्षमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, वैज्ञानिक तथा खगोल विज्ञानमा रुचि राख्नेहरू गरी करिब ३० जनाको सहभागिता थियो । कार्यक्रमलाई रसियन हाउस इन काठमाडौं र नेपाल रसिया विज्ञान तथा प्रविधि समाजले सहयोग गरेका थिए ।

null

OWAO २०२६ का लागि टिम नेपाल
पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाड २०२६ नोभेम्बर ६ देखि १४ सम्म रुसको सिरियस संघीय क्षेत्रमा हुनेछ । ओलम्पियाडमा नेपालको प्रतिनिधित्व निम्न विद्यार्थीले गर्नेछन्:
•    सुयश कोइराला
•    रिभास राई
•    ओम राज पुरी
•    स्नेहा कोइराला
•    दिप्चन कार्की
•    गरिमा बस्नेत

विद्यार्थीहरूलाई रसियन हाउस इन काठमाडौँले सम्मान गरेको थियो । टोलीको तर्फबाट बोल्दै स्नेहा कोइराला र सुयश कोइरालाले खगोल विज्ञान आफ्नो सबैभन्दा ठूलो रुचि भएको बताए । उनीहरूले ओलम्पियाडलाई ब्रह्माण्डका रहस्य खोज्ने तथा विज्ञानप्रतिको साझा लगावमार्फत सांस्कृतिक आदानप्रदान गर्ने अवसरका रूपमा लिएको बताए ।

null

कार्यक्रममा नासोका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेश भट्टराईले नेपालमा राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड कार्यक्रमबारे प्रस्तुति दिनुभएको थियो । उहाँले नेपालमा खगोल विज्ञान, विज्ञान तथा प्रविधिको प्रवर्द्धनमा नासोको काम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीहरूको उपलब्धि र रसियन हाउस इन काठमाडौंसँगको २० वर्ष लामो सहकार्यबारे जानकारी दिनुभयो । उहाँले शिक्षा, ज्ञान र अनुसन्धानले युवालाई प्रेरित गर्न मद्दत गर्ने बताउनुभयो ।

रसियन हाउस इन काठमाडौंकी निर्देशक सुश्री अनास्तासिया खोख्लोभाले विशेष मन्तव्य राख्दै खगोल विज्ञानमार्फत मानिसहरूलाई एकै ठाउँमा ल्याउने नासोको लामो समयदेखिको कामको प्रशंसा गर्नुभयो । उहाँले नेपाली युवा प्रतिभालाई सहयोग गर्न र नेपाल–रुसबीचको वैज्ञानिक सहकार्य सुदृढ गर्न रसियन हाउस तयार रहेको बताउनुभयो ।

null

प्रमुख अतिथि नेपाल रसिया विज्ञान तथा प्रविधि समाजका अध्यक्ष एवं नेपालका पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इ. गणेश शाहले विद्यार्थीहरूलाई जिज्ञासु बन्न, आलोचनात्मक ढङ्गले सोच्न र विश्वव्यापी प्रवृत्तिसँग अद्यावधिक रहन आग्रह गर्नुभयो ।

कार्यक्रमको सुरुमा मनिषा ड्वाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन ओशन शर्मा कट्टेलले गर्नुभएको थियो भने सुश्री अंकिता भट्टराईले धन्यवाद ज्ञापन गर्नुभयो ।

null

प्रदर्शनी र एक्सोप्लानेट ट्रान्जिट सिमुलेटर
कार्यक्रमसँगै नासो र राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड (NAO) को इतिहास तथा उपलब्धिसम्बन्धी प्रदर्शनी पनि उद्घाटन गरिएको थियो । प्रदर्शनीको मुख्य आकर्षण नेपाली युवा सहभागीहरूले बनाएको एक्सोप्लानेट ट्रान्जिट सिमुलेटर थियो, जुन एक क्रियाशील मोडेल हो ।

उक्त मोडेलले सौर्यमण्डलबाहिरका ग्रह पत्ता लगाउने प्रमुख विधिमध्ये एक, ट्रान्जिट विधि देखाउँछ । यसमा एउटा बत्तीले तारा र त्यसको परिक्रमा गर्ने सानो गोलाले ग्रहको भूमिका निर्वाह गर्छ । गोला बत्ती र सेन्सरको बीचबाट गुज्रँदा प्रकाशको केही भाग छेकिन्छ, र जोडिएको ल्यापटपको सफ्टवेयरले चमकमा आएको कमीलाई तत्कालै लाइट कर्भका रूपमा देखाउँछ । यो कार्यक्रम नासोले रसियन हाउस इन काठमाडौं र नेपाल रसिया विज्ञान तथा प्रविधि समाजको सहयोगमा आयोजना गरेको थियो ।

Most read