कीवर्डहरू -

नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट

नेपाली राजदूतावास मलेसियाबाट ई-पासपोर्ट जारी गर्न शुरू, पहिलो दिननै ३३ जनाको लाइभ इनरोलमेन्ट

नेपाली राजदूतावास मलेशियाबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएको छ । बुधबारदेखि  मलेसियाबाट पनि ई-पासपोर्ट जारी गर्न शुरू गरिएको हो ।

२ लाख भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा मलेसियामा छन् । रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी सेवा शुरू गरिएको थियो ।

राहदानी विभागबाट उनको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इनरोलमेन्ट गरेको छ ।

राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ । यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भाग लिएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेशियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो ।

कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गरे ।

अर्यालले मलेशियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिदै अब मलेशियाबा विद्युतीय राहदानी मात्र जारी हुने र एमआरपी राहदानी जारी नहुने कुरा बताए ।