कीवर्डहरू -

विद्युतीय सामग्री मात्रै किनबेच गर्न मिल्ने ई-कमर्स ‘मोबाइलमाण्डु’ हाँकिरहेकी खिमा

विद्युतीय सामग्री मात्रै किनबेच गर्न मिल्ने ई-कमर्स ‘मोबाइलमाण्डु’ हाँकिरहेकी खिमा

सन् २०१९ तिर नेपालको ई-कमर्स बजार भर्खर भर्खर फस्टाउन थालेको थियो । विभिन्न ई-कमर्स प्लेटफर्महरू बजारमा आइरहेका थिए । तर इलेक्ट्रोनिक्स (विद्युतीय) मा मात्रै केन्द्रित भएको ई-कमर्स थिएन । यो समस्यालाई ललितपुरकी खिमा सुवेदीले अवसरको रूपमा हेरिन र विद्युतीय सामग्री मात्रै किनबेच गर्न मिल्ने ई-कमर्स सञ्चालन गर्ने योजना बनाइन । 

विगत १० वर्षदेखि भीएस ग्रुप अफ कम्पनिजमार्फत मोबाइल तथा एक्सेसरिजको अफलाइनमा बजारमा काम गर्दै आएकी उनलाई अब ई-कमर्समा जानुपर्छ भन्ने लागिसकेको थियो । त्यसपछि सन् २०१९ तिर इलेक्ट्रोनिक्स सामान मात्रै किनबेच गर्न पाउने गरी सिस्टम विकासको काम सुरू गरिन । तर त्यसको केही समयपछि कोरोना महामारीले देश नै अस्त व्यस्त बनायो । अफलाइन व्यापार, व्यवसाय चौपट भयो भने अनलाइन व्यवसायले फस्टाउने मौका पायो । त्यो समयमा ई-कमर्स ‘बुम’ भयो । 

महामारीको समयमा पनि सिस्टम बनिरहेको थियो । सिस्टम बनिसकेपछि गत असोज २८ गते मोबाइलमाण्डु सञ्चालनमा आयो । सन् २०१९ देखि नै सिस्टम विकास हुन सुरू भएपनि महामारी लगायत विविध कारणले गएको असोज २८ गते मोबाइलमाण्डु सार्वजनिक भएको कम्पनीकी प्रबन्ध निर्देशक खिमा सुवेदीले बताइन् । 

‘अफलाइन बिजनेसमा १० वर्षको अनुभव संगाल्दै गर्दा अब अनलाइनमा जानुपर्छ भन्ने लागिसकेको थियो,’ उनले आईसीटी समाचारसँग भनिन, ‘त्यसपछि सन् २०१९ मा सिस्टम विकासको काम सुरू गरेर गएको असोजदेखि मोबाइल माण्डु सञ्चालनमा आएको हो । अबको भविष्य भनेको अनलाइन नै हो ।’ 

null

भीएस ग्रुप अफ कम्पनिज विगत १० वर्षदेखि नेपालमा मोबाइल, ट्याबलेट लगायतका विद्युतीय सामग्रीहरू बिक्री गर्दै आएको छ । आईप्रो, द ग्रेट एशिया, चुई ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता समेत हो । कम्पनीले आफ्नै ब्राण्ड ‘क्यानभास’ मा फोन समेत बिक्री वितरण गर्दै आएको छ । अफलाइनमा क्रेडिटको समस्या छ तर अनलाइनमा हुँदैन । फेरि अबको भविष्य अनलाइन नै हो । चाहेर वा नचाहेर अनलाइन जानुको विकल्प छैन् । त्यसै कारण पनि अफलाइन सँगसँगै अनलाइन माध्यममा जानुपर्छ भन्ने लागेपछि भीएस ग्रुप अफ कम्पनिजले मोबाइल माण्डु ई-कमर्स पनि सुरू गरेको हो । 

ई-कमर्स सुवेदीका लागि नयाँ अवधारणा भएपनि यसमा काम गर्ने योजना बनाइसकेपछि टिम व्यवस्थापन गर्न समय लागेको उनी बताउँछिन् । ‘ई-कमस फरक प्रकृतिको व्यवसाय थियो । यसको बजार पनि फरक छ । कार्यान्वयनको पाटो पनि फरक,’ सुवेदीले भनिन, ‘सुरूमा त टिम व्यवस्थापन गर्न नै समय लागेको थियो । त्यसपछि प्रडक्ट रिसर्च र ग्राहकको रूची पहिल्याउन केही समय लाग्यो । तर पनि यात्राका क्रममा आउने चुनौतीलाई छिचोल्दै अगाडि बढिरहेका छौं ।’ 

अहिले मोबाइल माण्डुमा १० जनाले रोजगारी पाएका छन् । मोबाइल माण्डुमा हाल एक्सेसरिज, ट्याबलेट, होम अप्लाइसेन्स, ल्यापटप, ग्याजेट, गेमिङ, स्टाइल एण्ड स्पोर्ट्स, इलेक्ट्रोनिक्स विधाका सामानहरू खरिद गर्न सकिन्छ । त्यसका लागि कम्पनीले विभिन्न कम्पनीसँग सहकार्य गरेको छ । 

ग्राहकको विश्वास जित्ने कोसिस

नेपालमा ई-कमर्सले ग्राहकको विश्वास त्यति जित्न सकेको छैन् । त्यहीमाथि इलेक्ट्रोनिक्स प्रडक्टमाथि विश्वास जित्न झन गार्‍हो छ । तर मोबाइल माण्डुले ग्राहकको विश्वास जित्ने गरी काम गरिरहेको सुवेदीको दावी छ । 

‘हामी आफैले ग्राहकलाई झुक्काएर सामान बेच्दैनौं । फोटोमा एउटा अनि सामान अर्को पठाउँदैनौं । हामीहरू आफै विद्युतीय उत्पादनहरू आयात गरेर समेत बिक्री गर्छौं,’ उनी भन्छिन्, ‘आयात गर्दा पनि फ्याक्ट्रीमा गएर गुणस्तरीयता कायम गर्छौं । सस्तो पायो भनेर जे पायो त्यही ल्याउँदैनौं । कसैलाई सामान मन परेन भने तत्काल रिटर्नको समेत व्यवस्ता गरेका छौं ।’ 

ग्राहकलाई कुनै सामान मन परेन भने कम्पनीले काठमाडौं उपत्यकामा त्यही दिनमै रिटर्न लिने गरेको छ भने उपत्यका बाहिरको हकमा एक हप्तासम्म समय लाग्ने गरेको छ । कुनै सामानमा डिफेक्ट देखियो भने भने त्यसको साटो अर्को सामान लैजान पनि सक्छन् । अहिले मोबाइल माण्डुले समेत ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । 

null

मोबाइलमाण्डुको डेलिभरी सेवा नेपालभर नै उपलब्ध रहेको छ । डेलिभरीका लागि नेपाल क्यान मुभसँग सहकार्य गरेको खिमाले जानकारी दिइन । कम्पनीले काठमाडौंमा १०० रूपैयाँ र काठमाडौं बाहिर बढीमा २०० रूपैयाँ शुल्कमा डेलिभरी सेवा दिने गरेको छ । 

मोबाइल माण्डुका आगामी योजना

सार्वजनिक भएको ६ महिनामा मोबाइल माण्डुले एउटा लय समातिसकेको छ । अब यसलाई अझै माथि पुर्‍याउने कम्पनीको योजना छ । मोबाइल माण्डुलाई आगामी दिनमा अझै परिस्कृत गर्दै नयाँ नयाँ सुविधा ल्याउने सुवेदीले जानकारी दिइन । कम्पनीले केही समय पछि मोबाइल माण्डुको एप समेत ल्याउने योजना बनाएको छ । 

अहिले मोबाइल माण्डुमा भेन्डरहरूले आफ्ना प्रडक्ट बिक्री गर्न सक्दैनन । तर आगामी दिनमा भेन्डरले आफै अकाउन्ट बनाएर सामान बिक्री गर्न मिल्ने सिस्टम थप गर्ने कम्पनीको योजना छ । 

भविष्यमा मोबाइल माण्डुले आईटीका प्रडक्ट होलसेल रूपमा रूपमा बिक्री गर्ने समेत तयारी गरेको छ भने बेल ब्राण्डमा आफ्नै गेमिङ एक्सेसरिज पनि ल्याउने तयारीसमेत अगाडि बढाएको छ ।

य​​​​​​सका लागि अहिले कम्पनी दर्ता प्रक्रिया अगाडि बढेको छ । यस बाहेक विभिन्न कलेज र कर्पोरेटसँग सहकार्य गर्दै उनीहरू छुटमा सामान उपलब्ध गराउने गरी अहिले काम अगाडि बढाइएको छ । 

महिलाले केही जानेको छैन् भन्ने सोच हाबी

सुवेदीले आईटी व्यवसाय गर्न थालेको करिब १० वर्ष भयो । आजभन्दा १० वर्ष अगाडि आईटी क्षेत्रमा काम गर्ने महिलाहरू नगन्य मात्रामा थिए । तर अहिले आईटी क्षेत्रमा महिलाहरूको पनि रूची बढ्दै गएको छ । तर महिला भनेपछि अन्डरस्टिमेट गर्ने, केही जानेको छैन् भन्ने खालको सोचाइ अझै पनि रहेको उनको अनुभव छ । 

व्यवस्थापन अध्ययन गरेकी उनले समाजले के भन्छ, अरूले के सोच्छन् भन्ने प्रवाह कहिले पनि गरिनन् । ‘म सक्छु’ भन्ने आत्मविश्वासले उनलाई डोर्‍यारह्यो । त्यही आत्मविश्वासले त सुवेदीलाई आज यहाँसम्म ल्याइ पुर्‍याएको छ ।

‘केटी मान्छे भएकै कारण गर्न सक्दिन्न भन्ने भावना कहिले पनि आएन,’ उनी गर्वका साथ भन्छिन्, ‘केटाभन्दा कम छु जस्तो मलाई लाग्दैन् । त्यस्तो महसुस पनि गर्दिन्न ।’ 

चीनियाँसँग बिजनेस सिकाइ

भीएस ग्रुप अफ कम्पनीजले चीनबाट सामानहरू आयात गरेर नेपालमा बिक्री वितरण गर्दै आएको छ । १० वर्षको अवधिमा सुवेदीले थुप्रै आरोह अवरोह देखिन । बिजनेस गर्दै गर्दा व्यवसाय बारे चीनियाँहरूबाट धेरै कुरा सिकेको उनको अनुभव छ । 

उनी अगाडि भन्छिन्, ‘मैले व्यवसाय बारे चाइनिजबाट धेरै कुरा सिके । उनीहरूले इमान्दारिताका साथ सुझाव दिन्छन् नेपालमा चाँहि एकातिरको वास्तविकता हुन्छ, अर्कोतिर सल्लाह हुन्छ । आलोचनात्मक रूपले सोच्ने हाम्रो चलन छैन् ।’ 

नेपाल महिलाहरूले केही जानेको छैन् भन्ने सोचले ग्रसित भएपनि चीनमा भने फ्रन्टलाइनमा काम गर्ने ८० देखि ९० प्रतिशत महिला हुने गरेको उनी बताउँछिन् । चीनमा महिलाहरूलाई प्रेरित गरेको देखेर आफुलाई पनि थप प्रोत्साहन मिलेको उनको अनुभव छ ।