कीवर्डहरू -

विदेशी कम्पनीलाई एसईओ सेवा दिने ‘ओर्का सोसल्स’, अब नेपालीलाई एसईओ सिकाउने 

विदेशी कम्पनीलाई एसईओ सेवा दिने ‘ओर्का सोसल्स’, अब नेपालीलाई एसईओ सिकाउने 

तपाई हामी प्राय सबैलाई लाग्छ, आफ्नो विवरण पनि गूगलको पहिलो पेजमै भेटियोस् । रौतहटका रामबाबु थापालाई पनि आजभन्दा १० वर्ष अगाडि यस्तै लाग्यो ।

उनले आफ्नो विवरण गूगलमा खोजे तर भेटेनन् । त्यसपछि आफ्नो विवरण कसरी देखाउने भन्ने बारे उपायहरू खोज्न थाले । यस बारे खोज्दै जाँदा सर्च इन्जिन अप्टिमाइजेसन (SEO) को बारेमा थाहा पाए । १० वर्ष अगाडिको चासो आज एउटा कम्पनीको रूपमा परिणत भएको छ, जसको नाम हो, ‘ ओर्का सोसल्स ’ ।

‘आफ्नो विवरण गूगलमा नदेखेपछि एसईओसँग परिचित भएको थिए,’ ओर्का सोसल्सका संस्थापक थापाले भने, ‘सन् २०१२ मा एसईओको बारेमा थाहा पाएँ । अहिले निरन्तर यसमा लागिरहेको छु ।’

सन् २०१२ मै एसईओसँग परिचित भएपनि थापाले यसलाई मुख्य काम बनाएका थिएनन् । फुल टाइम वेब डेभलपरको (Web Developer) रूपमा ई-जोन इन्टरनेसनलमा काम गरिरहेका थिए । त्यही कम्पनीमै उनले एसईओ पनि अभ्यास गरिरहेका थिए ।

जब उनलाई एसईओबाटै आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो अनि सन् २०२० को अन्त्यतिर वेब डेभलपमेन्ट छोडेर फुल टाइम एसईओमै बिताउन थाले । वेब डेभलपमेन्टभन्दा एसईओमा बढी आम्दानीको सम्भावना देखेको उनको भनाइ छ ।

\"\"

संस्थापक थापा


२०१९ को अन्त्यतिर एउटा कोठाबाट ओर्का सोसल्सको यात्रा सुरू भएको थापा बताउँछन् । थापाको मेन्टरशिपमा काम गर्ने भन्दै एलिन ओडारी र तारा बहादुर थापा टिममा जोडिए, अनि १ जनवरी २०२० मा ओर्का सोसल्स कम्पमीको रूपमा दर्ता भयो । उनीहरू आफ्नो डिभाइस र खाजा आफै लिएर आउँथे ।

‘३ जनाबाट सुरू भएको कम्पनीमा अहिले २५ जनाको टिम छ,’ थापा उत्साहित हुँदै भन्छन्, ‘अमेरिकामा पनि ओर्का सोसल्स दर्ता भएको छ । व्यवसाय बढ्दै जाँदा टिम पनि ठूलो हुँदै गएको छ ।’

कम्पनीले अहिलेसम्म १५० भन्दा बढी विदेशी कम्पनीलाई एसईओ सेवा प्रदान गरिसकेको छ । ३० बढी सक्रिय ग्राहक छन् ।

\"\"

ओर्का सोसल्स फुल सर्भिस एसईओ एजेन्सी हो । साथै कम्पनीले तीन वर्ष पुरा गरेको अवसरमा ओर्का सोसल्सले एसईओको ट्रेनिङ पनि दिने योजना बनाएको छ । रोजगारी नै पाउने गरी उक्त तालिम दिइने छ ।

‘नेपालमा एसईओका लागि दक्ष जनशक्ति छैन् । दक्ष जनशक्ति सिर्जना गरेर नेपालमै धेरैलाई रोजगारी दिने योजना छ,’ थापाले आइसिटी समाचारसँग आगामी योजना सुनाउँदै भने, ‘विश्वबजारका लागि तयार हुने गरी तालिम दिन्छौं, जसले नेपालमा मात्रै होइन् विश्वस्तरमै काम गर्न सक्छन् ।’

२५ जनाले रोजगारी दिएको कम्पनीले यो संख्यालाई अझै बढाउने जनाएको छ । नेपालमा धैरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने आफ्नो योजना रहेको थापा सुनाउँछन् ।