कीवर्डहरू -

प्रतिनिधि सभामा पनि लागु हुँदै विद्युतीय हाजिरी, फिंगरप्रिन्ट र फेसको नमुना लिन सुरू

प्रतिनिधि सभामा पनि लागु हुँदै विद्युतीय हाजिरी, फिंगरप्रिन्ट र फेसको नमुना लिन सुरू

संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि विद्युतीय हाजिरी लागू गर्ने प्रक्रिया सुरू गरेको छ । संसद सचिवालयले विद्युतीय हाजिरी लागु गर्नका लागि सांसदहरूको नमुना लिन सुरू गरेको हो ।

विद्युतीय हाजिरीका लागि सोमबारदेखि सांसदहरूको नमुना (बायोमेट्रिक) लिन सुरू गरेको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट फिंगरप्रिन्ट र फेसको नमुना लिने प्रक्रिया प्रारम्भ भएको हो ।
प्रतिनिधिसभागका सदस्यहरूको नयाँ बानेश्वरको संसद भवनमा फिंग्ररप्रिन्ट र फेशको नुमुना दिन सक्ने छन् ।

प्रतिनिधिसभा सदस्यहरूको जेठ १२ गतेसम्म विद्युतीय हाजिरीका लागि नमुना उपलब्ध गराउनु पर्नेछ । नमुना ११ बजेदेखि ३ बजेसम्म दिन सकिने छ ।

सबै सांसदहरूले विद्युतीय हाजिरीका लागि नमुना दिएपछि पूर्ण रूपमा लागु गर्ने प्रक्रिया प्रारम्भ हुने धमलाले आइसिटी समाचारलाई बताए ।

‘सबै सांसदहरूले नमुना दिएपनि केही दिन परीक्षण गर्छौं । परीक्षण सफल भएपछि पूर्ण कार्यान्वयनमा लैजान्छौं,’ उनले भने ।

विद्युतीय हाजिरी लागु भएपछि हाजिर गरेर हिड्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ । अर्को कुरा रेकर्ड व्यवस्थापनमा धेरै सजिलो हुनेछ । हाल सचिवालयले हाजिरीको काम म्यानुअल रूपमा गर्दै आएको छ ।

अहिले सांसदहरूको उपस्थिति म्यानुअल रूपमा राख्दै आएको र विद्युतीय हाजिरी राखेपछि सांसद र सचिवालय दुबैलालाई सजिलो हुने धमला बताउँछन् ।

‘हाल सदस्यहरूको उपस्थिति म्यानुअल रूपमा गरेर फेरी कम्प्युटरमा इन्ट्री गर्ने झन्झट छ,’ उनले आइसिटी समाचारसँग भने, ‘अब सफ्टवेयरले त्यो रेकर्डलाई एकैपटक व्यवस्थापन गर्न मद्दत पुर्‍याउने छ । सँगसगै संसद बैठकमा कति उपस्थित हुनुभयो र कति अनुपस्थिति हुनुभयो सोही दिन थाहा हुन्छ ।’

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले सांसदको उपस्थिति बारे सोही दिन नै सार्वजनिक गर्ने निर्णय यस अगाडि नै गरिसकेको छ ।

केही सांसदहरूले संसद बैठकमा बोल्दै पटक पटक विद्युतीय हाजिरी राख्नुपर्ने कुरा उठाएका थिए । गएको वैशाख २४ गते बसेको कार्यव्यवस्था परामर्श समितिमा पनि विद्युतीय हाजिरी राख्ने बारे छलफल भएको थियो ।

राष्ट्रिय सभामा भने यसअघि नै विद्युतीय हाजिरी लागु भइसकेको छ । प्रतिनिधि सभामा पनि अब छिट्टै लागु हुनेछ ।