कीवर्डहरू -

लोकसेवा र प्रवेश परीक्षाको निःशुल्क ज्ञान बाँड्दै ज्ञानमार्क

लोकसेवा र प्रवेश परीक्षाको निःशुल्क ज्ञान बाँड्दै ज्ञानमार्क

सामान्यता एसईई वा स्नातक तह पूरा गरेपछि नेपाली युवाहरु  कि लोकसेवा परीक्षाको तयारीमा जुट्छन् कि त नयाँ विषय पढ्ने भनेर प्रवेश परीक्षाको तयारीमा लाग्छन् ।

खासगरी लोकसेवा र प्रवेश परीक्षाका लागि बजारमा विभिन्न पाठ्यक्रममा आधारित किताबहरु भेटिन्छन् । तर, विश्व प्रविधिमा अब्बल  र सबल भइरहेको बेला इन्टरनेटमा असीमित सूचना तथा जानकारी मात्रै नभई विश्वबजारमा चर्चित र काम लाग्ने पुस्तकहरु किन्न र पढ्न सक्छौं ।

त्यसमा परीक्षाका लागि तयारी गर्दा प्राय हामी सबै पाठ्यक्रम एकैठाउँमा भइदिए सहज हुने आशमा रहन्छौं । हो, यही कुरालाई मध्यनजर गर्दै  इन्टरनेटमा विभिन्न सामाग्री छरिएर रहेका पठनीय र जीवन उपयोगी सूचना, जानकारी र पुस्तक एउटै ठाउँमा पाइने वेबसाइट हो, ज्ञानमार्क डटकम

ज्ञानमार्क एक विशुद्ध अनलाइन लर्निङ्ग प्लेटफर्म हो । यस प्लेटफर्ममा प्लस टू साइन्स, सिटीईभिटीको कोर्षदेखि लिएर एमबीबीएसको तयारी कक्षा, सीएसआइटी सम्बन्धी सबै पाठ्यक्रमहरु समावेश गरिएको छ ।

यसका साथै लोकसेवा परीक्षाको तयारी गर्नुपर्दा पनि ज्ञानमार्कले सहज बनाउने गर्दछ । यो वेबसाइटमा विशेष गरी धेरै वटा वैकल्पिक प्रश्नहरु समावेश गरिएका छन् ।

यो प्लेटर्फममा प्रयोगकर्ताले विभिन्न गेमहरु खेल्दै ज्ञानवद्र्धक सामाग्रीहरु पढ्न सक्नेछन् । यसले मनोरञ्जनसहित शिक्षासँग जोड्ने प्रयत्न गरिरहेको छ ।

ज्ञानमार्क पोखराका दुई‍तीन जना साथी मिलेर सुरु गरेको प्लेटफर्म हो । लकडाउनको समयमा संस्थापक सुबास पोडेलले पनि लोकसेवाको तयारी गरिरहेका थिए र अरु नर्सिंग, डाक्टरी पूरा गरेका साथीहरुले पनि विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरुको तयारी गरिरहेका थिए ।

त्यसबेला आफू र आफ्नो साथीहरुले परीक्षा तयारीमा भोग्नुपरेको समस्याहरु एकदमै ध्यानले नियालिरहेको संस्थापक सुबास पौडेलले बताए । पाठ्य सामाग्री एकै ठाउँमा नरहेकाले परीक्षाको तयारी गरिरहेका सबैले धेरै समस्या भोग्नुपरेको थियो । यसैलाई उन्मूलन गर्न ज्ञानमार्कको सुरुवात गरिएको उनी बताउँछन् ।

उनी भन्छन्, 'त्यो समयमा आफू विभिन्न प्रवेश परीक्षाहरुको तयारी गरिरहँदा इन्टरनेटमा पर्याप्त सामाग्री भएता पनि नेपालको परिवेशमा सोधिने प्रश्नहरुको जवाफ खोज्न गाह्रो थियो ।  हामीले यही समस्यालाई समाधान गर्न यो प्लेटफर्म बनाएका हौं ।'

प्रवेशपरीक्षा तथा लोकेसेवा तयारीलाई झनै सहज र व्यवस्थित  बनाउनुका साथै भरपर्दो बनाउन निकट भविष्यमा यसको मोबाइल एप पनि बनाउने उनको  भनाइ छ ।

ज्ञानमार्कको सुविधा लिनका लागि जुनसुकै ब्राउजरमा गएर ज्ञानमार्क डटकम खोलेमा सजिलै वेबसाइटमा लग इन हुनेछ ।  ‘यस वेबसाइटभित्रको सामाग्रीहरु एकदमै प्रयोगकर्तामैत्री रहेको छ ।’ संस्थापक पौडेलले भने ।

वेबसाइटको शीर्ष भागमा सर्च बटनसमेत छ जसले कुन विषयमा एमसिक्यू चाहिएको हो भनेर सजिलै खोज्न सक्ने व्यवस्था राखिएको छ । यो वेबसाइटमा भएको सबै सामाग्रीहरु निःशुल्क पढ्न सकिने संस्थापक पौडेल बताउँछन्।

वेबसाइट सुरुमा विकास हुने क्रममा रहँदा संस्थापक टोलीले वेबसाईटमा ५० हजार प्रश्नहरु समावेश गरेका थिए भने अहिले यो संख्या करिब एक लाख माथि रहेको पौडेलको भनाइ छ ।

उनी भन्छन्,  अहिले सम्पूर्ण संकायहरुको मिलाएर एक लाख बढि मल्टिपल च्वाइस प्रश्नहरु वेबसाइटमा रहेका छन् । प्रश्नहरु पनि एकदमै विस्तृत ढङ्गले राखिएका छौ ।

यसले दिनभर हातमा मोबाइल चलाइरहने युवाहरुका लागि यो ज्ञानमार्क वरदान सावित हुनसक्छ । इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँमा पनि युवाहरुले प्रवेश परीक्षा र लोकसेवा परीक्षा तयारी कक्षा तयारी गर्न सक्ने कम्पनीले जनाएको छ ।