कीवर्डहरू -

उत्तम पुडासैनीले जिते अन्तर्राष्ट्रिय स्तरको पिपुल च्वाइस राइजिङ स्टार अवार्ड

उत्तम पुडासैनीले जिते अन्तर्राष्ट्रिय स्तरको पिपुल च्वाइस राइजिङ स्टार अवार्ड

ड्रोन क्षेत्रमा काम गरिरहेको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले एक अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् ।  उनी एयरवार्ड्स नामक अमेरिकी संस्थाले प्रदान गर्ने व्यक्तिगत तर्फको पिपुल च्वाइस अवार्डको राइजिङ स्टार विधाको विजेता बन्न सफल भएका हुन् ।

कम्पनीले ड्रोनको क्षेत्रमा राम्रो काम गरेका र भविष्यमा राम्रो गर्न सक्ने व्यक्ति तथा संस्थालाई यो वर्षबाट विभिन्न ६ विधामा अवार्ड प्रदान गरेको थियो । राइजिङ स्टार विधामा पुडासैनीसहित विभिन्न देशबाट १४ जना मनोनित भएका थिए । जसमा नेपालका उत्तम पुडासैनीले अवार्ड हात पार्न सफल भएका हुन् ।

यो अवार्डले नेपालमा ड्रोन प्रविधिको विकास गर्न र प्रवर्द्धन गर्न थप हौसला प्रदान गर्ने पुडासैनीले बताए । उनले भोट गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

को हुन पुडासैनी ?

काठमाडौंमा जन्मिएका पुडासैनी सगरमाथा कलेजबाट विज्ञान विषयमा प्लस टु सकेपछि स्नातकको लागि काठमाडौं विश्वविद्यालयमा जियोम्याट्रिक्स इन्जिनियरिङ गरे ।

जियोम्याटिक्स इन्जिनियरिङले म्यापिङ तथा नक्शांकनलाई कसरी डिजिटाइज गर्न सकिन्छ भन्ने काम गर्छ । उनले २०१४ मा काठमाडौं विश्वविद्यालयमा जियोम्याटिक्स इन्जिनियरिङ पास गरेका हुन् ।

उनको टिमले जियोम्याट्रिक्स इन्जिनियरिङको चौथौ वर्षमा ड्रोनबाट आएको डेटा कतिको वास्तविक हुन्छ भन्ने विषयमा थेसिस गरेको थियो ।


यो पनि पढ्नुहोस्ः ड्रोन क्षेत्रका राइजिङ स्टार उत्तम पुडासैनी, जो एक अन्तर्राष्ट्रिय अवार्डमा मनोनित भए


सन् २०१५ को भूकम्प पछि नेपालमा ड्रोनलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अन्तर्राष्ट्रिय ट्रेनिङ भएको थियो । उक्त ट्रेनिङ पछि नेपालमा ‘फ्लाइङ ल्याब्स’ स्थापना भएको हो । नेपालमा स्थापना भए पनि फ्लाइङ ल्याब्सको नेटवर्क अहिले विश्वका ३२ देशमा पुगेको छ ।

‘ड्रोनबाट आएको डेटा कत्तिको वास्तविक हुन्छ भन्ने रिसर्च नेपालको पहिलो एकेडेमी रिसर्च थियो, उनले भने, ‘सन् २०१४ तिर नेपालमा ड्रोनको प्रयोग खासै थिएन ।’

पुडासैनी अन्तर्राष्ट्रिय संस्था ब्युल्ड चेञ्जबाट अमेरिका जाने मौका पाए र उनले त्यहाँ १ वर्ष काम गरे । त्यो संस्थामा काम गर्दा ड्रोनको बारेमा बुझ्न उनी विश्वका नौ ८ देशमा समेत गए ।

‘उक्त संस्थामा काम गर्दा नेपालको पोष्ट डिजास्टरको अवस्थामा ड्रोन प्रविधि कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले काम पनि गर्‍यो,’ उनले भने ।

नेपाल फ्लाइङ ल्याब्सको ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले प्युठानमा गाउँगाउँबाट क्षयरोग परीक्षणका लागि खकार ल्याउने काम गरिरहेको छ ।

फ्लाइङ ल्याब्सबाहेक उत्तम नक्शा प्रालिका सह संस्थापक समेत हुन् । यसले जिआईएस म्यापिङ, डिजिटल म्यापिङको काम गर्छ ।

संस्थाले अहिले कोरोना महामारीको समयमा लकडाउनको अवसर पारेर विभिन्न संस्थासँग मिलेर हेटौडा उपमहानगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकासँग काम गरिरहेको छ ।