कीवर्डहरू -

प्रदेश १ को नीति तथा कार्यक्रमः प्राथमिकतामा परेन डिजिटल प्रदेश

प्रदेश १ को नीति तथा कार्यक्रमः प्राथमिकतामा परेन डिजिटल प्रदेश

प्रदेश नम्बर १ ले बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा अरू क्षेत्र प्राथमिकतामा परेपनि डिजिटल प्रदेश भने खासै प्राथमिकतामा परेको छैन् । डिजिटल प्रदेशका लागि कुनै ठोस् योजना अगाडि सारिएको छैन् ।

प्रदेशका सबै जिल्ला अस्पताल र रेफरल अस्पताल मार्फत टेलिमेडिसिन सेवा आरम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी विद्यालयलाई प्रविधिमैत्री बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

साथै विज्ञान तथा प्रविधिको विकास, अनसन्धान र प्रवर्द्धन गर्न प्रादेशिक नीति तर्जुमा गरी कार्यान्यनमा ल्याइने जनाइएको छ ।

नीति तथा कार्यक्रमका अनुसार ओखलढुंगाको रूम्जाटार, ताप्लेजुङ घुन्साको हिमाली नमुना गाउँ लगायत तीन स्थानमा शुरू गरिएको स्मार्ट सिटी एवं नमूना गाउँको विस्तृत सम्भाव्यता अध्ययनको कार्यलाई निरन्तरता दिई संघ, स्थानीय तह, निजी क्षेत्रसँग समेतको सहकार्यमा कार्यन्वयन योजना तर्जुमा गरिनेछ ।

आगामी दुई वर्षभित्र सबै घरमा विद्युत पर्‍याइने र विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने नीति तथा कार्यक्रम बताइएको छ ।

‘डिजिटल नेपालको वृहत प्रारूपसँग तादम्यता राखेर तयार गरिएको डिजिटल प्रदेश मिसन तथा सुशासनलाई कार्ययोजनालाई कार्यान्यवन गर्न मुख्यमन्त्री ड्यासबोर्ड, सवारीसाधन दर्ता तथा यातायात सेवा व्यवस्थापन प्रणालीलाई पूर्ण क्षमतामा कार्यान्यवन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

राजस्व चुहावट नियन्त्रण सम्बन्धि नीति तथा कानुन तर्जुमा गरी सूचना प्रविधिको प्रयोग मार्फत् राजस्व संकलनलाई थप पारदर्शी र प्रभावकारी बनाइने कुरा नीती तथा कार्यक्रममा छ ।

नीति तथा कार्यक्रममा लेखिएको छ, ‘डिजिटल नेपालको वृहत प्रारूपसँग तादम्यता राख्दै प्रदेश १ डिजिटल प्रदेशको विस्तृत कार्ययोजना तयार गरी लागु गरिनेछ र क्रमशः प्रदेश सरकारसँगको नागरिक पहुँच बढाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल प्रदेशको व्यवहारिक कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशलाई डिजिटल प्रदेशतर्फ उन्मुख गराइनेछ ।’