कीवर्डहरू -

प्रदेश २ मा डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकास गरिने, सेवालाई नागरिक एपमा आवद्ध गरिने

प्रदेश २ मा डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकास गरिने, सेवालाई नागरिक एपमा आवद्ध गरिने

प्रदेश नम्बर २ ले बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालयमा इन्टरनेट सुविधा सहितको पुस्तकालय स्थापनालाई निरन्तरता दिइने र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने बताइएको छ ।

पचासौंवर्ष पुरानो भू-अभिलेखको आधारमा प्रदेश भित्र जग्गा प्रशासन सम्बन्धि सेवा सञ्चालन भइरहेको हुँदा भूमि व्यवस्थापना क्षेत्रलाई थप परिष्कृत गर्न टाइटल रजिष्ट्रेसन सिस्टम (हकदावी प्रणाली) अबलम्बन गरी प्रविधियुक्त जग्गा नापनक्शा कार्य प्रारम्भ गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अतिक्रमित क्षेत्र तथा वन्य जन्तु संवेदनशील क्षेत्रको तथ्यांक संकलन गरी डिजिटल डाटावेश तयार गरिने जनाइएको छ भने प्रादेशिक विज्ञान प्रविधि प्रयोगशाला स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रम भनिएको छ, ‘स्याटेलाइट सिटीको अवधारणालाई निरन्तरता दिइने छ । चालु आर्थिक वर्षमा प्रस्तावित स्याटेलाटइ सिटी महेन्द्रनगर, कल्यानपुर, गोलबजार, गरूडा, पोखरिया, सिमरौनगढ, बागमती लगायतको विस्तृत अध्ययन प्रतिवेदनको आधारमा आगामी आर्थिक वर्षमा निर्माण कार्य प्रारम्भ गरिनेछ ।’

स्मार्ट सवारीचालक पहिचानपत्र प्रदेशबाट नै वितरण गर्ने कार्यलाई प्रारम्भ गरी प्रभावकारी रूपमा सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा रहेको छ ।

वातावरणीय अनूकूलतालाई दृष्टिगत गर्दै प्रदेशका मुख्य क्षेत्रहरुमा विद्युतीय सवारी साधन तथा मेट्रो रेलको सम्भाव्यता अध्ययनको कार्य यसै वर्ष सम्पन्न गरिने उक्त नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशभित्र अपराधिक गतिविधि नियन्त्रण गर्न सीसीटीभी जडान गरिने बताइएको छ ।

‘इ-गभर्नेन्सको अवधारणा अन्तर्गत प्रदेशका काम कारवाहीमा आम नागरिकहरुको पहुँचका लागि डिजिटल सूचनामैत्री सूचना प्रविधिको विकासलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । प्रदेशका विभिन्न निकायहरुबाट प्रदान गरिने सेवालाई नागरिकको सहज पहुँचका लागि नागरिक एप्ससँग आवद्ध गर्ने कार्यलाई प्राथमिकता दिइनेछ’ नीति तथा कार्यक्रम लेखिएको छ ।

साथै बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरीहरुलाई ल्यापटप गरिने जनाइएको छ ।