कीवर्डहरू -

म्यासेजमा होन्डा एनिभर्सरी फिशिङ आतंक, सावधान ! होन्डाको स्कुटर जित्ने लोभमा डेटा चोरी होला

म्यासेजमा होन्डा एनिभर्सरी फिशिङ आतंक, सावधान ! होन्डाको स्कुटर जित्ने लोभमा डेटा चोरी होला

अहिले फेसबुक म्यासेन्जरमा होन्डाको एनिभर्सरी भन्दै फिशिङ लिंकसहित म्यासेज आइरहेको छ । होन्डाको स्कुटर जित्ने लोभमा प्रयोगकर्ताहरुले यसलाई धेरै नै फर्वार्ड गरिरहेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता प्रकारका फिशिङ लिंकसहितका म्यासेजहरु बेला बेला भाइरल हुने गर्छन् । तर यस्ता म्यासेज वास्तविक होइनन् । यो त एउटा स्क्याम हो ।

प्रयोगकर्तालाई पुरस्कारको लोभ देखाएर डेटा चोरी गर्न चालिएको चाल हो यो । त्यसकारण तपाईलाई पनि होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका अन्य कुनै शंकास्पद फिशिङ लिंकहरू आइरहेका छन् भने क्लिक नगर्नुहोला । तपाईको साइबर आक्रमणको शिकार बन्न सक्नुहुन्छ ।

यसो त सामाजिक सञ्जाल यो घटना पहिलो भने होइन् । यसअघि पनि विभिन्न प्रतिष्ठित कम्पनीको नाम र लोगो प्रयोग गरेर फिशिङका घटना भइरहेका छन् ।

कसरी बच्ने फिशिङबाट ?

दूरसञ्चार प्राधिकरणले अपरिचित व्यक्ति वा ठेगानाबाट आएका शंकास्पद इमेललाई नखोल्न, लिंकहरुमा क्लिक नगर्न र त्यस्ता शंकास्पद इमेलालाई डिलिट गर्न वा ब्लक गर्न आग्रह गरेको छ ।

पुरस्कार, उपहार, चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाइएको इमेल, सन्देश, फोनकल लगायतलाई रिप्लाई वा रेसपोन्स नगर्न पनि प्राधिकरणले भनेको छ ।

आफूसँग सम्बन्धित नभएका कन्ट्री डोमेन र सब डोमेनबाट आएका इमेलहरुलाई नखोलि डिलिट गर्नुपर्छ । त्यसैगरी अनावश्यक मेलिङ लिष्टमा सब्सक्राइब नगर्ने र सब्सक्राइब गरेको भए अन सब्सक्राइब गर्नुपर्छ । इमेलबाट आफ्नो पासवर्ड, ओटीपी, बैंक खाता नम्बर र पिन कोड जस्ता विवरण पठाउनु हुदैन ।

कम्प्युटर तथा मोबाइलमा एन्टिभाइरस प्रयोग गर्नुपर्छ र कुनै पनि वेबसाइट राम्रोसँग पहिचान नगरी युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, नागरिकता नम्बर लगायतका व्यक्तिगत परिचय शेयर गर्नु हुँदैन् । साथै फेसबुकमा त्यस्तो भइरहेको छ भने रिपोर्ट पनि गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्ः नेपालमा किन बढ्दै छ फिशिङ आक्रमण ? कसरी जोगिने ?