कीवर्डहरू -

मोबाइल व्यवसायमा नयाँ रेकर्ड, १०३ प्रतिशतले वृद्धि हुदै ३७ अर्बको आयात

मोबाइल व्यवसायमा नयाँ रेकर्ड, १०३ प्रतिशतले वृद्धि हुदै ३७ अर्बको आयात

काठमाडौं । गएको एक वर्ष मुलुक कोरोना संक्रमणबाट गुज्रियो । यो बेला धेरैका रोजगारी गुमे भने धेरैका व्यवसाय बन्द भए । मुलुकको आर्थिक वृद्धिमा गिरावट आयो भने अर्थतन्त्रमा नकारात्मक असर गर्यो ।

तर, सूचना प्रविधिको क्षेत्रमा यस वर्ष केही सकारात्मक सूचांक देखिएका छन् । जस्तो कि डिजिटल भुक्तानी बढेको छ र यस सम्बन्धी साक्षरता वृद्धि भएको छ ।

यस्तै एक उदाहरण हो मुलुकको मोबाइल व्यवसाय । गत आर्थिक वर्षमा मुलुकको मोबाइल व्यवसाय मालामाल भएको छ । उक्त वर्ष मोबाइल व्यवसायमा नयाँ रेकर्ड राख्दै मुलुकमा ३७ अर्बका मोबाइल भित्रिएका छन् ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ बराबरका मोबाइल हेन्डसेट भित्रिएका छन् ।

यो मुलकको मोबाइल व्यवसायको अहिलेसम्मको सबैभन्दा धेरै हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष मोबाइल आयात १०३ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष मुलुकमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका थिए ।