कीवर्डहरू -

ब्याचलर्समा आईटीमा के पढ्ने ? यस्ता छन् सूचना प्रविधि अध्ययन र प्रयोगका नयाँ विधाहरू

ब्याचलर्समा आईटीमा के पढ्ने ? यस्ता छन् सूचना प्रविधि अध्ययन र प्रयोगका नयाँ विधाहरू

शुक्रबार मात्रै राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्‍यो । नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्ने व्यवस्था मिलाइएको थियो । एक दशक अगाडि र अहिले सूचना सञ्चार गर्ने माध्यममा ठूलो परिवर्तन आएको छ।

डिजिटल प्रविधिको प्रयोगले सूचना सञ्चारका साथ साथै अन्य कुरामा पनि निकै सहज र छरितो सेवा प्रदान गर्न सकिएको छ। कतिपय विद्यार्थीलाई सूचना प्रविधिका विधामा अध्ययन गर्ने इच्छा हुन सक्छ।

सूचना प्रविधिमा थुप्रै नविनतम विधा भएकाले कुन विधामा स्नातक पढ्ने र प्रखर हुने भन्ने कुराले चिन्तित तुल्याएको हुन सक्छ। यस सन्दर्भमा यो लेखमा सूचना प्रविधिका अध्ययन र प्रयोगका नयाँ विधाहरूको संक्षिप्त जानकारी दिइएको छ।

यो उद्योग ४.० (इन्डष्ट्री 4.0) को समय हो। मानव जीवन तथा समाजका थुप्रै आयामहरूमा स्वचालन (अटोमेसन) र बौद्धिक (इन्टेलिजेन्स) प्रविधिको प्रयोग गरी समय तथा लगानीको बचत तथा गुणस्तर सेवा प्रदान गर्ने चलन चलिसकेको छ।

हाल विश्वभर सूचना प्रविधिका नविनतम विधाहरू जस्तै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), बिग डेटा एण्ड डेटा एनालाइटिक्स, फिनटेक, रेजटेक, एआई इन साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, एज कम्प्युटिङ, क्वान्टम कम्प्युटिङ, रोबोटिक प्रोसेस अटोमेसन, इन्टरनेट अफ थिङ्स (आईओटी), मेटाभर्स तथा अन्य थुप्रै विधाहरूका प्रविधिहरूको अध्ययन, उत्पादन तथा प्रयोग गरिन्छ।

त्यस्तै कम्प्युटर साइन्स डट ओआरजीका अनुसार निकट भविष्यमा मसिन लर्निङ इन्जिनियर, सिनियर डेटा साइन्टिष्ट, एआई/एमएल रिसर्च साइनटिष्ट, डिप लर्निङ इन्जिनियर र एल्गोरिदम इन्जिनियर पदमा उच्चतम शीपको माग बढ्ने देखिन्छ।

संसारकै सर्वमान्य प्रविधिमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने गार्टनर कम्पनीका अनुसार सन् २०२२ मा १२ वटा सूचना प्रविधिका विधाहरू जस्तै डेटा फ्याब्रिक, साइबर सेक्युरिटी मेस, पाइभेसी इन्ह्यान्सिङ कम्प्युटेसब, क्लाउड नेटिभ प्लेटफर्म्स, कम्पोसेबल एप्लिकेसन, डिसिजन इन्टेलिजेन्स, हाइपर अटोमेसन, एआई इन्जिनियरिङ, डिष्ट्रिब्युटेड इन्टरप्राइजेज, टोटल एक्सपेरियन्स, अटोनोमिक सिस्टम र जेनेरेटिभ एआई उद्योगमा निकै फस्टाउने छन्।

हाल नेपालमा पनि रोबोटिक प्रोसेस अटोमेसन, एसओसी/एसआईईएम, क्रेडिट रिस्क रेटिङ, सर्भिस हब्स, डेटा एनालाइटिक्स, रेगुलेटरी/सुपरभाइजरी इन्फर्मेसन सिस्टम, इन्टरप्राइजेज एपीआई, फिनटेक, रेजटेक, इलेक्ट्रोनिक मेडिकल रेकर्ड, ट्रेडिङ सोलुसन, एआई, पेमेन्ट तथा लेन्डिङ सर्भिस, आईओटी र  च्याटबट जस्ता नविनतम प्रविधिहरू प्रयोगमा आइसकेका छन्।

निकट भविष्यमा नेपालमा नयाँ प्रविधिहरू जस्तै ब्लकचेन, सेन्ट्रल बैंक डिजिटल करेन्सी, ओपन बैंकिङ, डिसेन्ट्रलाज्ड फाइनान्स, फाइभजी, सेन्सर नेटवर्क, प्रेडिक्टिभ एनालाइटिक्स तथा मेन्टेनेन्स, कन्भर्जनल एआई, साइबर सेक्युरिटीका लागि एआई, सेवाका लागि एआई, डायनामिक वर्कफ्लो, हाइपर कन्भर्ज्ड इन्फ्राइस्ट्रक्चर, एज कम्प्युटिङ, एआई, भीआर र जीडीपीआर एडोप्सन प्रयोगमा आउने सम्भावना छ। नेपाल पर्यटकीय दृष्टिकोणले विश्वमै एक उत्कृष्ट गन्तव्य स्थल भएकाले पर्यटनमा पनि नयाँ प्रविधिहरूको प्रयोगको प्रचुर सम्भावना छ।

यस्ता नविनत सूचना प्रविधिको प्रयोगका साथसाथै नयाँ प्रविधिको अनुसन्धान र बजार विस्तारमा पनि निकै कामहरू भएका छन्।

उदाहरणका लागि कानूनी बहस तथा निष्कर्सका लागि कम्प्युटेसनल ल, व्यक्तिगत प्रयोजन तथा अशक्तता भएकाको लागि व्यक्तिगत रोबोट, समुहमा मिलेर गरिने कामका लागि सामाजिक रोबोट, कृत्रिम संसार तयार गरी संवाद र कार्य सम्पादनका लागि मेटाभर्स, सूक्ष्म जीवहरूको अध्ययन तथा औषधी निर्माणको लागि बायोइन्फर्मेटिक्स जस्ता नयाँ विधाहरूमा विश्वभरी अनुसन्धान भइरहेको छ।

सूचना प्रविधि मुलतः कम्प्युटिङ विज्ञानमा आधारित विषय हो। यसका मूलभुत (कोर) विषयहरू कम्प्युटिङको सिद्धान्त, प्रोग्रामिङ ल्याङ्वेजको सिद्धान्त, डेटाको संरचना तथा एल्गोरिदम, सफ्टवेयर इन्जिनियर, डिजिटल डिजाइन, न्युमेरिकल तरिका, एप्लाइड म्याथम्याटिक्स आदि हुन्।

यिनले कुनैपनि सूचना प्रविधिका विधाका लागि चाहिने पूर्वाधार बनाउछन्। नेपालमा प्रदान गरिएका विश्वविद्यालय स्तरका केही विषयहरू, कम्प्यूटर विज्ञान र इन्जिनियरिङ्ग, मूलभुत विषयमा केन्द्रित छन् भने कतिपय विषयहरू सूचना प्रविधिका प्रयोग (एप्लिकेसन) मा केन्द्रित देखिन्छन्।

समाजमा सूचना प्रविधिमा सबै विधा तथा तहका ज्ञान र सिप भएका दक्ष जनशक्तिको आवश्यकता पर्दछ। त्यसैले आफ्नो रूची तथा सिकाइको किसिम अनुसार विधा छनोट गरि सोही विधामा प्रखर हुनु पर्दछ।

सूचना प्रविधिको प्राविधिक ज्ञानको साथसाथै विद्यार्थीहरूमा अब प्रोफेसनल सञ्चार, क्रिटिकल थिंकिङ, रिक्वाएरमेन्टस इन्जिनियरिङ, बिजनेस एनालाइसिस जस्ता सिप हुनु पर्दछ। सूचना प्रविधिको व्यवसायतर्फ उन्मुख विद्यार्थीहरूमा इन्नोभेसन र उद्यमशीलताको पनि राम्रो ज्ञान तथा सिप हुनु पर्छ।

यसका लागि विद्यार्थीले विभिन्न समारोह, प्रतिस्पर्धा तथा भ्रमणमा सक्रिय सहभागी भइ अरूबाट सिक्ने तथा आँफै अनुभव बटुल्न सक्छन्। नेपालमा सूचना प्रविधिमा प्राविधिक उद्यमशीलता (टेक्नोप्रेनरसीप) जस्ता विधामा पनि स्नातक स्तरमा पढाइ शुरू भैसकेको छ।

सूचना प्रविधिका विधाहरूमा पोख्त हुन त्यति सजिलो चाहिँ छैन। उदाहरणको लागि डेटा साइन्समा विशेषज्ञ बनी ट्विटर कम्पनीमा सिनियर स्टाफ डेटा साइन्टिष्टको पदमा आवेदन दिनको लागि मात्रै पनि विद्यावारिधी पछि कम्तिमा १० वर्ष सोही विधामा काम गरेको हुनु पर्छ।

सूचना प्रविधका क्षेत्रमा जति सम्भावनाहरू छन् त्यतिनै यसमा समस्याहरू पनि छन्। नेपालको परिवेशमा भौतिक पूर्वाधारको कमी, सतही ज्ञान तथा दक्ष जनशक्तिको कमी, विश्वस्तरिय मापदण्डहरूको अनुसरण नगरिएको, व्यवसायीहरूमा सूचना प्रविधिको ज्ञानको कमी तथा सूचना प्रविधिका जनशक्तिमा व्यवसायीक बुझाइको कमी, बौद्धिक सम्पत्तिको चोरी, कानून तथा कार्यविधिको कमी आदिले गर्दा कतिपय सूचना प्रविधिका दक्ष जनशक्ति विदेश पलायन भएका र कति निराश भएको पनि देखिन्छ।

गार्टनर कै अनुसार सन् २०२२ मा मात्रै विश्वभर सूचना प्रविधिमा कुल ४.४३ खर्ब अमेरिकी डलर खर्च हुने आँकलन गरिएको छ। यसबाट सूचना प्रविधिमा थुप्रै नयाँ विधाहरू आउने र ठूलो मात्रामा दक्ष जनशक्ति चाहिने देखिन्छ।

नेपालमा पनि डिजिटल नेपाल फ्रेमवर्कको घोषणा सँगै थुप्रै नयाँ कामहरूको पहल शुरू भएका छन्। यसका लागि पनि ठूलो मात्रामा सूचना प्रविधिको जनशक्तिको आवश्यकता बन्ने देखिन्छ।

सूचना प्रविधिमा चाख लिइ आँफू दक्षबनाउने चाहना भएका सबैलाई अग्रिम शुभकामना !

(लेखक पराजुली सूचना प्रविधि विज्ञ हुन् । साथै उनी पुर्यानी भेन्चर्सका संस्थापक, नेपाल पेमन्ट सोलुसनका प्रमुख इन्नोभेसन अफिसर र सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रिन्सीपल हुन् )