कीवर्डहरू -

कोरोना महामारीः डिजिटल रुपान्तरणको सारथी !

कोरोना महामारीः डिजिटल रुपान्तरणको सारथी !

२०७६ साल चैत ११ गतेदेखि जनजीवन एक्कासी ठप्प भयो । किनकी नेपालमा कोरोना भाइरस संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेको थियो । त्यसबेला नेपाली लकडाउनसँग अभ्यस्त थिएनन् ।

आफ्नो घरभित्रै बस्नु परेपछि अत्यासमा थिए । तर विस्तारै बानी पर्दै गएपछि केही सहज हुन थाल्यो । त्यो समयमा हाम्रो एकमात्र साथी भएको थियो इन्टरनेट ।

घरबाटै काम गर्न होस् वा अनलाइन कक्षा लिन होस् वा कारोबार गर्न होस् वा मनोरञ्जन लिन सबैका कामका लागि इन्टरनेट प्रयोग हुन्थ्यो । त्यो बेला इन्टरनेट ट्राफिक समेत ह्वात्तै बढेको थियो ।

कोरोना महामारीले सबै क्षेत्रलाई असर गरेपनि एउटा क्षेत्रलाई भने फाइदा गर्‍यो, त्यो हो डिजिटल रूपान्तरण । जब महामारी शुरू भयो त्यसपछि देशका उद्योग, कलकारखाना, शैक्षिक संस्था, पसल सबै बन्द भए ।

कोरोना सर्ने डरले मानिसहरूले अनलाइनबाटै कारोबार गर्न थाले, शपिङ गर्न थाले । विद्यालयहरूले अनलाइन कक्षाको शुरूवात गरे । सक्ने जति कार्यालयका काम घरबाटै भए ।

कोरोना महामारीले केही वर्षमा आउने डिजिटल रूपान्तरण केही महिनामै ल्याइदियो । मानिसहरू प्रविधिसँग अभ्यस्त नभएपनि कोरोना संक्रमणबाट बच्न प्रविधिसँग अभ्यस्त हुन थाले । प्रविधिको प्रयोग बारे सिक्न थाले ।

सरकारले पनि प्रविधिलाई प्राथमिकतामा राख्यो । कोरोना भाइरसको जानकारी दिने देखि अन्य विभिन्न काम प्रविधिको प्रयोग मार्फत हुन् थाले ।

त्यसपछि डिजिटल प्रविधिको प्रयोग ह्वात्तै बढ्यो । प्रविधिको प्रयोग ह्वात्तै बढेपछि यसले कामलाई छिटो, छरितो र पादर्शीता बढायो भने सरकारको डिजिटल नेपाल अभियानलाई समेत टेवा पुर्‍यायो ।

डिजिटल भुक्तानीमा उत्साह

कोरोना महामारी पछि सबैभन्दा वृद्दि भएको एउटा क्षेत्र हो, फिनटेक अर्थात वित्तिय प्रविधि । अझ यसलाई सजिलो भाषामा हामी अनलाइनबाटै रकमको कारोबार भनेर बुझ्न सक्छौं ।

कोरोना महामारी अगाडि बैंकमा गएर वा भेटेर पैसाको कारोबार हुन्थ्यो तर महामारीले लकडाउन शुरू भयो अनि त्यो सबै बन्द भयो । त्यो समयमा नोटको कारोबार गर्दा कोरोना सर्न सक्छ भन्ने कुरा विज्ञहरूले बताएका थिए ।

त्यसले पनि फिनटेकमा फड्को मार्न सजिलो भयो । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ मोबाइल वालेट, कनेक्ट आईपीएस जस्ता डिजिटल माध्यमबाट हुने कारोबार बढ्यो । नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि त्यो पुष्टि गर्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकको तथ्यांक अनुसार गत कात्तिकमा १३ अर्ब ९४ करोड ९० लाख रूपैयाँ मोबाइल वालेटबाट भएको छ । त्यस्तै कनेक्ट आईपीएसबाट कात्तिकमा २ खर्ब ३ अर्ब ३ करोड ६० लाख रूपैयाँ कारोबार भएको छ भने मोबाइल बैंकिङबाट ७८ अर्ब १५ करोड ७० लाख रूपैयाँको कारोबार भएको छ ।

साथै क्युआरबाट ५ अर्ब बढीको कारोबार भएको छ । पछिल्लो समय नेपालमा क्युआर कोड प्रविधि लोकप्रिय भइरहेको छ । राष्ट्र बैंकले पनि यसलाई प्राथमिकताका साथ प्रवर्द्धन गरिरहेको छ ।

आजभोलि मानिसहरूले तरकारी पसल, खुद्रा पसल, रेष्टुरेन्ट लगायतका अन्य विभिन्न ठाउँमा क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्ने गरेका छन् । तरकारी बजारलाई पनि क्यासलेस बनाउने अभियानमा राष्ट्रबैंक र फोनपेले विभिन्न अभियानहरु सञ्चालन गरे ।

कोरोना महामारी भन्दा अगाडि अनलाइन भुक्तानीको प्रचलन भएपनि त्यो सिमित र थोरै मात्रामा थियो । तर महामारीपछि डिजिटल भुक्तानीको दायरा पनि फराकिलो भयो र प्रयोग पनि ह्वात्तै बढेको छ ।

अनलाइनबाटै स्वास्थ्य परामर्श

कोरोनापछि अनलाइनबाटै स्वास्थ्य परामर्श लिनेको संख्या पनि बढेको छ । महामारी शुरू भएपछि अस्पतालहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गरे र त्यसपछि मोबाइल एप तथा वेबसाइटबाट विशेषज्ञ डाक्टरसँग परामर्श हुन थालेको थियो ।

अनलाइनबाटै चिकित्सकसँग परामर्श दिन करिब एक दर्जन प्लेटफर्म बजारमा छन् । हाम्रो पात्रो एपबाट नै अहिले वरिष्ठ र विशेषज्ञ डाक्टरहरुसँग सहज रुपमा अनलाइन परामर्श लिन सकिन्छ ।

दर्जनौ सस्थाहरुले यस क्षेत्रमा स्वास्थ सेवालाई प्रविधिमैत्री बनाउनको लागि काम गरिरहेका छन ।  साथै कोरोना महामारी पछि मानिसहरूमा मानसिक समस्या देखिन थालेपछि अनलाइनबाटै मनोपरामर्श सेवा समेत उपलब्ध हुँदै आएको छ ।

डिजिटल लर्निङ

कोरोना पछि नेपालको ठूलो परिवर्तन आएको क्षेत्र हो, शिक्षा । परम्परागत शिक्षालाई डिजिटाइज गर्न कोरोना महामारीले अत्यन्तै ठूलो भूमिका खेलेको छ ।

महामारीले सबै शैक्षिक संस्था बन्द भएपछि अनिवार्य जस्तै भयो अनलाइन शिक्षा । सरकारले बैकल्पिक सिकाइको लागि अनलाइन, टिभी र रेडियोहरुमा कार्यक्रमहरु सञ्चालन भए । निमा एकेडेमी, माइ सेकेण्ड टिचरहरु अनलाइन लर्निङको लागि आक्रामकरुपमा बजारमा प्रस्तुत भए ।

कोरोना महामारी पछि डिजिटल लिट्रेसी अर्थात डिजिटल साक्षरतामा ठूलो परिवर्तन आयो । किनकी त्यो बेला जसरी अनलाइन कारोबार, अनलाइन कक्षा जस्ता आवश्यक कुराको ज्ञान लिनुपर्ने अनिवार्य जस्तै भयो ।

घरभित्रै बस्दा मानिसहरू प्रविधिसँग अभ्यस्त हुनैपर्ने थियो र जसका लागि डिजिटल लिट्रेसीको आवश्यक थियो । त्यो केही हदसम्म विकास भएको छ तर अझै पर्याप्त छैन् ।

ई-कमर्सको बढ्दो बजार

कोरोना महामारी पछि लोकप्रिय भएको एउटा अर्को क्षेत्र ई-कमर्स । त्यसअघि ई-कमर्स सञ्चालनमा भएपनि लोकप्रिय खासै थिएन् । तर महामारीले लकडाउन भयो, अनि सबैलाई अनलाइनबाटै आवश्यक सामान खरिद गर्न थाले ।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्रै ई-कमर्श व्यवसायमा ४४ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । ई-कमर्स व्यवसाय पनि बढेका छन् । तर पनि कानून अभावका कारण बेला बेलामा ई-कमर्स कम्पनीले समस्या पाइरहेका हुन्छन् ।

पछिल्लो समय दराजले सञ्चालन गरेको ११.११ को क्यापियनमा मात्रै अर्बौको कारोबार एउटा प्लाटफर्मबाट भएको छ । डिजिटल पेमेन्ट र अनलाइन अर्डर धेरै प्रतिशतले वृद्धी भएको छ । इकमर्श पोलिसी पनि सरकारले ल्याएको छ । यसलाई अझ व्यवस्थित गर्न सरकारी तथा नीजि क्षेत्रबाट पनि आवश्यक छ ।

वर्क फ्रम होमको कल्चर

कोभिड १९ ले हाम्रो समाजमा अर्को एउटा महत्वपुर्ण अभ्यास गरायो, वर्क फ्रम हो । अहिलेसम्म पनि धेरै आइटी, सफ्टवेयर र अन्य कम्पनीहरुले पनि आफ्नो कामहरु वर्क फ्रम होमबाटै सञ्चालन गरिरहेका छन् ।

हामीले यो सोचिरहेका नै थिएनौ तर सम्भव हुनेरैछ भन्नेकुरा देखाएको छ । इन्टरनेटको प्रयोगमा आएको व्यपकता र अनलाइन टुल्स तथा टेक्नोलोजीहरुको प्रयोगले कठिन कामहरु पनि भर्चुअल रुपमा बसेर समाधान भइरहेका छन ।

अन्तर्राष्ट्रिय कन्फ्रेन्स र कार्यक्रमहरु सहज भएका छन् । भौतिक उपस्थितिमा करोडौ खर्च हुने कार्यक्रमहरु केहि हजारको खर्चमा सम्पन्न भएका छन ।

अहिले हामिले यो कुरा सामान्य लागेपनि यसले हामीलाई दुरगामी प्रभाव पारेको छ । यो काम गर्ने नयाँ कल्चरको रुपमा नै विकास भइरहेको छ ।

डिजिटल रुपान्तरणको अभ्यास

कोरोना महामारीले सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुर्‍याएको छ । सरकारले विभिन्न ८ क्षेत्रलाई प्रमुख क्षेत्रका रुपमा मुल्यांकन गर्दै ८ डोमेन र ८० डिजिटल इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको छ ।

डिजिटल फाउण्डेसन, कृषि, स्वास्थ, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पुर्वाधार सहित ८ डोमेन फ्रेमवर्कमा सार्वजनिक गरिएको छ । ८ क्षेत्र मध्ये केही क्षेत्रलाई डिजिटलाइज गराउन महामारीले विशेष भूमिका खेलेको छ ।

महामारीले गर्दा ५ वर्षमा आउने डिजिटल परिवर्तन एक वर्षमै भएको छ । अनलाइनबाटै हुन कारोबार रकम र संख्या बढेको छ । ई-कमर्श विस्तार भएको छ । अनलाइन शिक्षा लोकप्रिय हुन थालेको छ ।

अनलाइनबाटै अस्पतालको टिकट र परामर्श लिन सकिने भएको छ । डिजिटल साक्षरतामा वृद्धि भएको छ । यी सबै कुरा हर्दा महामारीले सरकारको डिजिटल नेपाल अभियानलाई सहयोग गरेकोमा कुनै दुईमत छैन् ।

यस अर्थमा एक हिसाबले कोरोना महामारी डिजिटल नेपाल वा डिजिटल रूपान्तरणको सारथी हो भन्न सकिन्छ । यद्यपी डिजिटल नेपालका लागि सरकारले गर्नुपर्ने काम धेरै छ । डिजिटल नेपालका लागि महत्वपूर्ण पूर्वाधार भनेको एउटा इन्टरनेट पनि हो ।

अहिलेसम्म इन्टरनेट गाउँ गाउँमा विस्तार हुन सकेको छैन् । विस्तार भएपनि गुणस्तरीय छैन्, सर्वशुलभ छैन् । शहरमै त गुणस्तरीय इन्टरनेट छैन् गाउँको झन के कुरा गर्ने ।

त्यसकारण सरकारले गुणस्तरीय र सर्वशुलभ कनेक्टिभिटीमा ध्यान दिन जरूरी देखिन्छ । शुरू गरिएका परियोजना सममयमै सम्पन्न गर्नुपर्ने आवश्यकता छ ।

अहिले दूरसञ्चारका कतिपय महत्वपूर्ण परियोजना अलपत्र छन् । त्यसकारण कोरोना महामारीले डिजिटल नेपाललाई सघाएपनि सरकारले अझै डिजिटल नेपालका लागि गर्नुपर्ने काम धेरै छन् ।

डिजिटल साक्षरताको अभियान गाउँगाँउसम्म पुर्याउन जरुरी छ । इन्नोभेसन र स्टार्टअपमा लागेको व्यत्तिहरुलाई प्रोत्साहन गर्दै आवश्यक दुरगामी कार्यक्रमहरु ल्याउन आवश्यक छ । नेपालीहरुलाई उद्यमशिलताको बाटोमा लाग्न विभिन्न योजनावद्ध कार्यक्रमहरु आउन आवश्यक छ ।

डिजिटल अर्थतन्त्रको मुलमन्त्रमा अघि बढ्दै देशलाई सवल बनाउन राजनीतिक एजेण्डामा आइसिटी अर्थात डिजिटलको कुरा अझ मजबुदरुपमा आउन आवश्यक छ ।  डिजिटल रुपान्तरणको अभियानमा अभ्यास भइरहेपनि यसले सफलता पाउन र पूर्ण हुन सबैले आफ्नो क्षेत्रबाट योगदान जरुरी छ ।