नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटी सेवा निर्यातले १.४ प्रतिशत योगदान गरेको एक अध्ययनले देखाएको छ ।
सर्वांगीन विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा आईटी सेवा निर्यातले नेपालको जीडीपमा १.४ प्रतिशत योगदान गरेको देखिएको हो ।
नेपालको जीडीपीमा एक वर्षमा आईटी सेवा सेवा निर्यातको योगदान ०.५ प्रतिशतले बढेको छ । सन् २०२१ मा आईटी सेवा निर्यातले जीडीपीमा ०.९ प्रतिशत मात्रै योगदान गरेको थियो । त्यस्तै सन् २०२० मा त्यस्तो योगदान १ प्रतिशत थियो ।
यस बाहेक आईटी सेवा निर्यातले नेपालको विदेशी मुद्रा सञ्चितमा साढे ५ प्रतिशत योगदान गरेको छ । रोचक कुरा त के छ भने आईटी कम्पनीको भन्दा पनि फ्रिल्यान्सरले नेपालको जीडीपी र विदेशी मुद्रा सञ्चितमा धेरै योगदान गरेको पाइएको छ ।
जीडीपी तर्फ २०२२ मा आईटी कम्पनीले ०.५ प्रतिशत र फ्रिल्यान्सरले ०.८ प्रतिशत योगदान गरेका छन् भने विदेशी सञ्चित मुद्रा तर्फ आईटी कम्पनीको २.२ प्रतिशत छ भने फ्रिल्यान्सरको ३.४ प्रतिशत योगदान रहेको छ ।
सन् २०२२ मा मात्रै १०६ वटा सूचना प्रविधि कम्पनी र करिब ६६ हजार ५०९ फ्रिल्यान्सरले ६७ अर्ब बढीको सेवा निर्यात गरेका छन् ।
आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।
सेकेन्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।