कीवर्डहरू -

टेलिकमको नयाँ व्यवस्था, घरमै बसेर नयाँ प्रिपेड ई-सिम लिन सकिने

टेलिकमको नयाँ व्यवस्था, घरमै बसेर नयाँ प्रिपेड ई-सिम लिन सकिने

काठमाडौं । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ । यससँगै ई-सिम लिनका लागि सेवाग्राही स्वयं टेलिकम कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ ।

नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सेवा सुरु गरिएको जानकारी दिएको हो । कम्पनीका अनुसार प्रयोगकर्ताले घरमै बसेर आवश्यक प्रक्रिया पूरा गरी ई-सिम लिन सक्नेछन् ।

नयाँ प्रिपेड ई-सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी “Get New Prepaid Sim” विकल्पमा क्लिक गर्नुपर्नेछ । त्यसपछि मागिएका विवरण भरेर अनलाइन दर्ता प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

आवश्यक विवरण दर्तापछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गर्न सकिनेछ । भुक्तानी सम्पन्न भएपछि प्रयोगकर्तालाई ई-सिमको क्यूआर कोड उपलब्ध गराइनेछ ।

उक्त क्यूआर कोड मोबाइलको सेटिङमार्फत स्क्यान गरी ई-सिम सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यसअघि प्रयोगमा रहेका फिजिकल सिमलाई पनि अनलाइनमार्फत ई-सिममा रूपान्तरण गर्ने सुविधा उपलब्ध छ ।

त्यस्तै, नयाँ फिजिकल सिमका लागि आवश्यक फारम भर्ने तथा ग्राहक विवरण (KYC) दर्ता वा अद्यावधिक गर्न मिल्ने अनलाइन केवाईसी पोर्टल समेत यही प्रणालीमा समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ ।

null