कीवर्डहरू -

क्युआर कोडलाई नै ठगीको माध्यम बनाउँदै स्क्यामर, जोगिनलाई यसो गर्नुहोस्

क्युआर कोडलाई नै ठगीको माध्यम बनाउँदै स्क्यामर, जोगिनलाई यसो गर्नुहोस्

डिजिटल कारोबारले हाम्रो जीवनलाई सजिलो बनाएको छ । डिजिटल भुक्तानी सजिलो, छिटो र सुरक्षित पनि हुन्छ । तर अर्कोतर्फ यसले अनलाइन ठगीको दर पनि बढाएको छ ।

पछिल्लो समय डिजिटल प्रविधिको प्रयोग गर्दै हुने साइबर ठगीहरूमा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाउँछ । स्क्यामरहरूले मानिसहरूलाई ठग्ने नयाँ तरिकाहरू खोजिरहेका हुन्छन् र त्यसै अनुसार आफ्नो चाल चल्छन् ।

केही समय यता क्युआर कोड प्रयोग अत्याधिक रूपमा बढ्न थालेको छ । भुक्तानीदेखि विभिन्न जानकारी दिने कार्यमा प्रशस्त मात्रामा क्युआर कोडको प्रयोग हुँदै आएको छ । अब यही क्युआर कोडलाई नै स्क्यामरहरूले ठगी गर्ने अर्को माध्यमको रूपमा प्रयोग गर्न थालेका छन् । 

क्युआर कोडबाट ठगी गर्नका लागि सुरूमा स्क्यामरहरूले क्युआर कोडमार्फ पैसा पठाउँदै छु भनेर विश्वस्त पार्ने प्रयास गर्छन् । पैसा पाउने मानिसलाई कोड स्क्यान गरी आफूले प्राप्त गर्न चाहेको रकम राख्न र त्यसपछि आएको ओटीपी राख्नुपर्छ भन्छन् । 

ध्यान दिनुहोस्, क्युआर कोड पैसा पठाउनको लागि मात्र स्क्यान गरिन्छ, पैसा प्राप्त गर्न होइन् । त्यसकारण, जब मानिसहरूले पैसा प्राप्त गर्ने लोभमा कसैको क्युआर कोड स्क्यान गर्छन् र ओटिपी प्रविष्ट गर्छन् । त्यसपछि उनीहरू आफै ठगीको शिकार हुन्छन् । 

क्युआर कोड स्कयामबाट बच्ने उपाय

  • आफ्नो बैंक खाता विवरणहरू अज्ञात व्यक्तिहरूसँग कहिल्यै शेयर नगर्नुहोस् ।
  • यदि तपाई कुनै पनि रकम प्राप्त गर्दै हुनुहुन्छ भने क्युआर कोड कहिल्यै स्क्यान नगर्नुहोस् ।
  • पैसा पठाउँदा पनि क्युआर कोड स्क्यान गर्दा देखाइएका विवरणहरू सधैं दोहोरो जाँच गर्नुहोस् ।
  • यदि क्युआर कोड अर्को क्युआर कोड छोपेको स्टिकर जस्तो देखिन्छ भने स्क्यान नगर्नुहोस् ।
  • ओटीपी कहिल्यै कसैसँग शेयर नगर्नुहोस् ।
  • यदि तपाई केही बेच्दै हुनुहुन्छ वा किन्दै हुनुहुन्छ भने सधैं व्यक्ति वा संस्थाको पहिचान प्रमाणित गर्नुहोस् ।
  • आफ्नो मोबाइल नम्बर आवश्यक नभएमा सेयर नगर्ने प्रयास गर्नुहोस् ।