कीवर्डहरू -

नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो

नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो

काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रमाणपत्र एपमै लिंक गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । एपको पछिल्लो संस्करण २.०.१०० अपडेटपछि प्रयोगकर्ताले यी सेवा प्रयोग गर्न सक्ने भएका हुन् ।

नयाँ सुविधाअनुसार व्यक्तिगत घटना दर्तासँग सम्बन्धित प्रमाणपत्रहरूलाई एपभित्र छुट्टै व्यवस्थापन गरिएको छ । यसअघि रहेका अन्य कागजातहरूभन्दा फरक रूपमा, एपको होमपेजमा ‘भाइटल इभेन्ट सर्टिफिकेट्स’ (Vital Event Certificates) नामक नयाँ खण्ड समावेश गरिएको छ ।

यो खण्डमार्फत जन्म दर्ता प्रमाणपत्र जोड्न दर्ता नम्बर र जन्ममिति प्रविष्ट गर्नुपर्नेछ । त्यस्तै, विवाह दर्ता प्रमाणपत्र लिंक गर्न दर्ता नम्बर तथा प्रमाणपत्र नम्बर आवश्यक पर्नेछ । सम्बन्ध विच्छेद प्रमाणपत्रका लागि भने दर्ता नम्बर र डिभोर्स सम्पन्न भएको मिति उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैबीच, एपको नयाँ अपडेटमा अध्यागमन (इमिग्रेसन) सम्बन्धी सेवा पनि थपिएको छ । अब भिजिट भिसामा विदेश जान चाहने यात्रुले विमानस्थलमा अनिवार्य रूपमा भरिने स्वघोषणा फाराम नागरिक एपमार्फत नै आवेदन दिन सक्नेछन् ।

सरकारले भिजिट भिसासम्बन्धी स्वघोषणा प्रक्रियालाई सहज र व्यवस्थित बनाउन यो सुविधा सुरु गरेको जनाएको छ । यसबाट विमानस्थलमा छुट्टै काउन्टरमा गएर फाराम भर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।