कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ मा स्मार्ट रिङ निर्माता कम्पनी सर्कुलर रिङले रिग २ को घोषणा गरेको छ । आफ्नो पहिलो स्मार्ट रिङ प्रस्तुत गरेको तीन वर्षपछि सर्कुलरले रिङ २ घोषणा गरेको हो ।
यो नयाँ पुस्ताको रिङमा इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) क्षमता र एट्रियल फिब्रिलेसन पत्ता लगाउने सुविधा हुनेछ । रिङको ईसीजी क्षमताले र एफडी स्वीकृत एट्रियल फिब्रिलेसन पत्ता लगाउने सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो मुटुको स्वास्थ्य अनुगमन गर्न सक्षम बनाउने छ ।
सर्कुलर रिङ २ मा उन्नत स्वास्थ्य प्रविधि, टाइमलेस डिजाइन र टिकाउपनका साथ स्मार्ट रिङको परिभाषालाई नयाँ रूप दिएको सर्कुलरका सीईओ अमौरी कोस्मानले बताए ।
‘यो मात्र वेयरेबल होइन । यो यस्तो वस्तु हो, जसले हाम्रो प्रयोगकर्ताहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्दछ,’ उनले भने, ‘साथै यसको स्टाइलमा कुनै पनि सम्झौता गरिएको छैन् ।’
यो वेयरेबलले सिंगल-लीड ईसीजी कैद गर्न सक्छ, जुन मुटुको विद्युतीय गतिविधि रेकर्ड गर्ने विधि हो र यो पीपीजी (फोटोप्लेथिस्मोग्राम) सेन्सरको प्रयोग गरेर काम गर्छ । पीपीजी सेन्सरहरूले छालामा प्रकाश पारी रगत प्रवाहको परिवर्तन मापन गर्छ ।
सर्कुलरका अनुसार, नयाँ रिङमा यसको पुरानो मोडेलको तुलनामा थप सुधारहरू छन्, जसमा राम्रो ब्याट्री लाइफ पनि सामेल छ । कम्पनीले आठ दिनको ब्याट्री ब्याकअप दिने वाचा गरेको छ ।
यसमा थप उन्नत सेन्सरहरू राखिएका छन्, जसले सुताइ विश्लेषण लगायतका प्रमुख स्वास्थ्य मेट्रिक्स ट्र्याक गर्न मद्दत गर्नेछ ।
साथै, प्रयोगकर्ताहरूलाई अझ सहज अनुभव प्रदान गर्न कम्पनीले आफ्नो साथी एपलाई पनि पुन: डिजाइन गरेको छ । आगामी फेब्रुअरी वा मार्चदेखि यो बिक्रीमा आउने छ, जसको मूल्य ३८० अमेरिकी डलर रहेको छ । सर्कुलर रिङ २ गोल्ड, सिल्भर, ब्ल्याक र रोज गोल्ड रङमा उपलब्ध रहेको छ ।
साथै सर्कुलरले डिजिटल रिङ साइजिङ सुविधा पनि सुरू गर्दैछ, जसलाई तपाईंले आफ्नो स्मार्टफोनबाट प्रयोग गरेर अर्डर गर्नु अघि आफ्नो सही साइज पत्ता लगाउन सकिने छ । यो संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्ससहित विभिन्न देशहरूमा लञ्च हुनेछ ।