कीवर्डहरू -

सजिलै व्यवसायको हिसाब-किताब राख्न सकिने ‘टिग एप’

अकाउन्टिङदेखि इन्भेन्ट्री व्यवस्थापनसम्मको सुविधा

सजिलै व्यवसायको हिसाब-किताब राख्न सकिने ‘टिग एप’

केही वर्ष अघिसम्म व्यवसायको हिसाब किताब ढड्डामा राख्नु पर्थ्यो । कसैको हिसाब खोज्न ढड्डा पल्टाएर हेर्दा कुनै बेला त भेटाउनै मुस्किल हुन्थ्यो । ढड्डामा राखिएको हिसाब किताब सुरक्षित पनि हुँदैन्थ्यो ।

मुसाले खाइदिने, च्यातिने, हराउने, जल्ने जस्ता अनेकौं सम्भावना हुन्थे । त्यो समयमा अहिलेको जस्तो डिजिटल प्रविधि पनि थिएन । समयक्रमसँगै प्रविधि विकसित हुँदै गयो र सबै कुरा सफ्टवेयरमै राख्न सुरू गरियो ।

पछिल्लो समय हरेक सेवाहरू अनलाइनबाटै पाउन थालिएको छ । सेवासँगै व्यवसाय पनि डिजिटल हुँदै छन् । पहिले पहिले ढड्डामा हिसाब किताब राख्दै आएका व्यवसायहरू अहिले सफ्टवेयरमा हिसाब किताब राख्न थालेका छन् । यसका लागि बजारमा धेरै सफ्टवेयरहरू उपलब्ध छन् । त्यस्ता सफ्टवेयरहरू मध्ये एक हो ‘ टिग’

करिब २ वर्ष अगाडि बीआईसी टेक्नोलोजीले क्लाउडमा आधारित सफ्टवेयर टिग सार्वजनिक गरेको थियो । यसलाई वेबसाइट र मोबाइल एप दुबै माध्यमबाट प्रयोग गर्न सकिन्छ ।

साना तथा मझौला व्यवसाय (एमएमई) लाई सजिलो बनाउन टिग सुरू भएको टिगकी सह-संस्थापक तथा प्रमुख व्यवसाय अधिकृत प्रार्थना शाखले बताइन् ।

‘विदेशमा अकान्टिङ, इन्भेन्ट्री व्यवस्थापन गर्ने सफ्टवेयर धेरै थिए तर नेपालमा खासै थिएनन । भए पनि चलाउन गार्‍हो थियो,’ उनले आइसिटी समाचारसँग भनिन्, ‘यस्तो अवस्थामा सबैले वर्गका व्यवसायले सजिलै चलाउन सक्ने सफ्टवेयर नेपालमा पनि हुनुपर्छ भनेर चार्टड अकाउन्टेन्ट, व्यवस्थापन र इन्जिनियरिङ समूह मिलेर टिग सुरू गरेका हौं ।’

विदेशमा एपमै हिसाब किताब राख्ने चलन पुरानो भइसके पनि नेपालमा भने भर्खर भर्खर फस्टाउँदै थियो । व्यवसायहरू डिजिटलमा जाँदै थिए । कोरोना महामारीले धेरै व्यवसाय र सेवालाई डिजिटल प्रविधिमा जान बाध्य बनायो ।

त्यही बेला लेखा, व्यवस्थापन र इन्जिनियरिङमा काम गरिरहेका र स्वदेशमै केही गर्ने हुटहुटी बोकेका उर्जावान युवाहरूको समूहले अकाउन्टिङ डिजिटाइजेसनमा समस्या देखे । त्यसपछि प्रार्थनासहितको टिम व्यवसायको अकाउन्टिङ र इन्भेन्ट्रीलाई डिजिटलमा लैजाने एप बनाउन घोत्लिन थाल्यो । त्यसपछि जन्मियो ‘टिग’ ।

व्यवसाको हिसाब किताबलाई डिजिटल बनाउने टिग कुनै नयाँ सफ्टवेयर होइन । त्यसभन्दा अगाडि पनि बजारमा सफ्टवेयर उपलब्ध थिए । तर ती सफ्टवेयर कुनै डेक्स्टपमा मात्रै चल्थे भने कुनै चलाउन निकै मुस्किल थियो । टिगले यो समस्यालाई अन्त्य गर्‍यो भने डेक्स्टप, ल्यापटप, मोबाइल, ट्याबलेट जुनसुकै माध्यमबाट पनि सजिलै चलाउन सकिने भयो ।

टिग डेबिट क्रेडि थाहा नभएको मान्छेले पनि सजिलै चलाउन सक्ने शाख बताउँछिन् । ‘टिग चलाउन सजिलो छ । अकाउन्टिङ नपढेको मान्छेले सजिलै चलाउन सक्छ । डेबिट, क्रेडिट थाहा नभएको मान्छेले पनि टिग चलाउन सक्छ,' उनी ढुक्कसँग भन्छिन्, ‘सहजै चलाउन सकिने गरी टिगलाई डिजाइन गरेका छौं ।’

टिगबाट अकाउन्टिङको काम गर्न, इन्भेन्ट्री व्यवस्थापन गर्न सकिन्छ । टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित सफ्टवेयर हो । त्यसैले ई-बिलिङको काम पनि यसबाटै गर्न सकिन्छ ।

टिगमा पुरानो ढड्डाको हिसाब किताबको फोटो खिचेर पनि गर्न राख्न सकिन्छ, जुन अरू एपमा छैन। दिन, महिना र वर्षको खरिद बिक्रीको डेटा ड्यासबोर्डमा हेर्न सकिन्छ । टिगबाट विभिन्न ४१ वटा रिपोर्टहरू जेनेरेट गर्न सकिन्छ ।
सुरूवाती अवस्थामा व्यवसायहरूलाई टिग बारे बुझाउन निकै गार्‍हो भएको उनी सम्झिन्छिन् ।

‘सुरूमा टिग बारे व्यवसायलाई बुझाउन समस्या थियो । त्यो बेला उहाँहरू ढड्डा वा डेक्स्टपमा हिसाब किताब राख्नुहुन्थ्यो,’ प्रार्थना विगतका दिन सम्झिदै भन्छिन्, ‘त्यो बेला वेबसाइट र मोबाइलबाटै हिसाब किताब राख्न सकिन्छ भन्ने बुझाउन निकै समस्या भएको थियो । तर विस्तारै बुझ्न थाल्नु भयो ।’

टिगका तीनवटा प्याकेज छन् । पहिलो स्ट्याण्डर्ड, दोस्रो प्रोफेसनल र तेस्रो इन्टरप्राइज । स्ट्याण्डर्ड प्याकेज साना व्यवसायीका लागि तयार पारिएको हो । यसको मूल्य वार्षिक २० हजार रूपैयाँ तोकिएको छ ।

यस प्याकेजमा अनलिमिटेड युजर र स्टोरेज सुविधा उपलब्ध छ । स्ट्याण्डर्ड प्याकेजमा १ हजार प्रडक्टसम्मको इन्भेन्ट्री राख्न सकिन्छ एक आर्थिक वर्षमा १० हजार वटा कारोबार गर्न सकिन्छ ।

दोस्रो प्याकेज अर्थात प्रोफेसनल मझौला व्यवसायीका लागि तयार पारिएको हो । यसमा पनि अनलिमिटेड युजर र स्टोरेज सुविधा उपलब्ध छ । २५ सय प्रडक्टसम्मको इन्भेन्ट्री राख्न सकिन्छ एक आर्थिक वर्षमा २५ हजार वटा कारोबार गर्न सकिन्छ । प्रोफेसनल प्याकेजको मूल्य वार्षिक ३२ हजार रूपैयाँ तोकिएको छ ।

त्यस्तै अर्को इन्टरप्राइज प्याकेज ठूला ठूला कर्पोरेट हाउसका लागि लक्षित गरेर तयार पारिएको हो । यसको मूल्य आवश्यक सुविधाका आधारमा तय हुनेछ ।

कम्पनीले ग्राहकहरूलाई निःशुल्क अनलाइन तालिम र २४ सै घण्टा सपोर्ट सेवा उपलब्ध गराउँदै आएको छ । यदी कुनै व्यवसाय ई-बिलिङका लागि आन्तरिक राजस्व विभागमा समेत दर्ता हुनुपर्‍यो भने त्यसको शुल्क एक पटक मात्रै तिर्नुपर्छ ।

टिग आईएसओ २७००१२०१३ बाट प्रमाणित संस्था हो । सुरू सुरूमा ग्राहकहरूले डेटा सुरक्षाको विषयमा निकै चासो व्यक्त गरेका थिए । कतिले सर्भर आफै राख्छौं भनेको समेत उनले बताइन् ।

‘टिग पूर्ण रूपमा सुरक्षित छ । हामी आईएसओबाट प्रमाणित कम्पनी हौं,’ उनले भनिन, 'टिगका सबै डेटा इन्क्रिप्टेड छन् । पूर्वाधारदेखि सफ्टवेयरसम्म विभिन्न तहको सुरक्षा प्रणाली अपनाएका छौं ।’

अहिलेसम्म ७ सय बढी कम्पनीले टिग प्रयोग गरिरहेका छन्, जसमा काठमाडौं उपत्यकाका ५० प्रतिशत छन् भने काठमामाडौं बाहिरका ५० प्रतिशत छन् ।

प्रत्येक दिन ४ हजार बढी प्रयोगकर्ताले टिग सक्रिय रूपमा चलाइरहेका छन् । टिगको सदस्यता नवीकरण गर्नेको संख्या पनि ९५ प्रतिशत रहेको छ ।

अहिलेसम्म प्रयोग गर्ने कम्पनीको प्रतिक्रिया सकारात्मक रहेको उनलौ बताइन् । उनी अगाडि भन्छिन्, ‘शत प्रतिशत सन्तुष्ट हुनुहुन्छ भन्दा त झुठ बोलेको जस्तो हुन्छ । धेरै प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । कसैले अझै अरू फिचर भए राम्रो हुन्थ्यो पनि भन्नु भएको छ । उहाँहरूको सुझावलाई समेटेर टिगलाई राम्रो बनाउन काम गरिरहेका छौं ।’

यदि तपाई व्यवसायी हुनुहुन्छ र टिग लिन चाहनुहुन्छ भने टिगको वेबसाइटमा गएर वा ९८०१२३६६०९ मा फोन गरेर डेमो बुक गर्न सक्नुहुन्छ ।

वेबसाइटबाट डेमो अकाउन्ट बनाएरै टिग चलाउन सक्नुहुन्छ । यसका साथै कम्पनीले १५ दिनका लागि फ्री ट्रायलको सुविधा समेत दिएको छ ।

टिगले डिजिटल नेपाल निर्माणमा पनि योगदान दिइरहेको शाखले सुनाइन् । ‘डिजिटल नेपाल निर्माणमा टिग जस्ता सफ्टवेयरको भूमिका महत्त्वपूर्ण छ,’ उनले भनिन, 'टिगले नेपालका साना तथा मझौला व्यवसायहरूलाई डिजिटाइज गरिरहेको छ । यो पनि डिजिटल नेपालकै एक हिस्सा हो ।’

टिगले सन् २०२२ मा पब्लिक च्वाइस आइसिटी अवार्ड समेत प्राप्त गरेको थियो । आइसिटी अवार्डले यस क्षेत्रमा काम गर्न अझै प्रेरित गरेको प्रार्थनाको भनाइ छ ।

अवसरमा खोजिमा दक्ष जनशक्ति विदेशिदा नेपालमा भने यसको असर देखिन थालेको छ । सुरूवाती चरणमा टिगले पनि दक्ष जनशक्तिको अभाव झेलेको थियो । हाल टिगमा डेभलपरसहित ३०-३५ जना कार्यरत छन् ।

नेपालभरका साना तथा मझौला व्यवसायलाई डिजिटलाइज गर्ने योजनासहित टिग अगाडि बढेको प्रार्थना बताउँछिन् ।

‘सन् २०२७ सम्म नेपालभर फैलिने योजना छ । त्यस बेलासम्म नेपालमा एउटा बलियो आधार सिर्जना गर्छौं,’ प्रार्थनाले सुनाउँछिन्, ‘सन् २०२७ पछि विदेशमा समेत जाने तयारी छ । त्यसै अनुरूप टिगलाई अझै बलियो बनाउन काम गरिरहेका छौं ।’

आगामी वर्षहरूमा टिगमा नयाँ मोड्युलहरू थप गर्ने कम्पनीले जनाएको छ । गाउँ गाउँसम्मका व्यवसायलाई डिजिटल बनाउने उद्देश्यसहित कम्पनीले कर्णालीका व्यवसायी र कृषि उद्यमीलाई टिग सफ्टवेयर निःशुल्क दिइरहेको छ ।