काठमाडौं । नेपालमा डिजिटल प्रणलीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आधारित यार्सा टेकले स्थानीय तहमा डायनामिक QR भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । यस कदलले नगरपालिका तथा गाउँपालिकामा हुने राजस्व संकलन र सार्वजनिक सेवा शुल्क भुक्तानीलाई सहज, सुरक्षित र पारदर्शी बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
प्रारम्भिक चरणअन्तर्गत स्थानीय तहहरूलाई नि:शुल्क ‘निजीपोस’ उपकरण उपलब्ध गराइएको छ, जसले बिना प्रारम्भिक लगानी आधुनिक डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने अवसर दिन्छ । यो प्रणाली हाल गण्डकी प्रदेश अन्तर्गतका पोखरा महानगरपालिका र रूपा गाउँपालिकामा सञ्चालनमा आएको छ ।
कम्पनीका अनुसार, यी स्थानीय तहहरूले अनुसन्धान तथा परीक्षण चरणमा सक्रिय सहभागिता जनाएको आधारमा पहिलो चरणमा छनोट भएका हुन् । ‘NiziPOS’ उपकरणले परम्परागत स्थिर QR कोडको सट्टा प्रत्येक कारोबारका लागि फरक QR कोड उत्पादन गर्ने, भुक्तानी सम्पन्न भएलगत्तै स्क्रिन तथा ध्वनिमार्फत पुष्टि दिने र विभिन्न बैंक तथा डिजिटल वालेटसँग सहज रूपमा समायोजन हुने सुविधा प्रदान गर्ने जनाएको छ ।
यार्सा टेकले शहरीसँगै ग्रामीण क्षेत्रलाई पनि लक्षित गर्दै डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न खोजेको छ, जसले डिजिटल सेवामा रहेको पहुँचको अन्तर घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । कम्पनीले आगामी चरणमा अन्य स्थानीय तहहरूमा समेत प्रणाली विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।
यो कदम नेपाल सरकारको डिजिटल नेपाल अभियानसँग पनि मेल खान्छ, जसले कागजरहित सेवा प्रवाह र डिजिटल कारोबारलाई प्राथमिकता दिँदै आएको छ । स्थानीय तहमा नगदरहित भुक्तानी प्रणाली विस्तार हुँदै जाँदा डिजिटल शासनतर्फको यात्रा अझ तीव्र बन्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार