काठमाडौं । नेपालका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू थ्रीजी प्रविधिलाई क्रमश: विस्थापित गर्दै फोरजी सेवामा केन्द्रित भइरहेका बेला देशभर अझै २४ लाख ३५ हजारभन्दा बढी ग्राहक टुजीमै निर्भर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार मोबाइल सेवा प्रयोगकर्तामध्ये करिब ९२ प्रतिशत फोरजी नेटवर्कमा आबद्ध छन् । हाल देशभर २ करोड ८६ लाख प्रयोगकर्ताले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।
यस्तै, थ्रीजी प्रयोगकर्ता ७ लाख ५७ हजार (करिब २ प्रतिशत) मा सीमित भएका छन् भने २४ लाख ३५ हजार अर्थात् ८.३५ प्रतिशत ग्राहक अझै टुजी सेवामै रहेका छन् । फाइभजी सक्षम स्मार्टफोनको प्रयोग बढिरहेका बेला यति ठूलो सङ्ख्यामा प्रयोगकर्ता पुरानै प्रविधिमा रहनुले डिजिटल रूपान्तरणको गति अझै पूर्ण नभएको देखिएको छ ।
दूरसञ्चार कम्पनीहरूले भने आगामी दिनमा थ्रीजी सेवा हटाउँदै फोरजीमा ग्राहकलाई स्थानान्तरण गर्ने रणनीति अघि बढाएका छन् । उनीहरूका अनुसार अहिलेको आवश्यकता र डेटा प्रयोगको चापका हिसाबले थ्रीजी प्रविधि प्रभावकारी नरहेकाले फोरजी नेटवर्क विस्तारलाई प्राथमिकता दिइएको हो ।
फोरजीले थ्रीजीको तुलनामा उच्च गतिको इन्टरनेट, बढी ब्यान्डविथ र गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउने भएकाले सेवा प्रदायकहरू नयाँ पूर्वाधार निर्माण र पुराना टावर स्तरोन्नतिमा जुटेका छन् ।
नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले हाल सञ्चालनमा रहेका तीन हजारभन्दा बढी थ्रीजी बीटीएस टावरलाई फोरजी सक्षम बनाउने काम गरिरहेको छ । स्तरोन्नति गर्न नसकिने टावर भने हटाइने योजना रहेको छ ।
थ्रीजी सेवा बन्द भएपछि डेटा प्रयोग गर्ने ग्राहकहरू फोरजी नेटवर्कमा जानुपर्नेछ । कम्पनीका अनुसार केवल भ्वाइस सेवाका लागि टुजी पर्याप्त भए पनि डेटा र उच्च गुणस्तरको भ्वाइस सेवा (भीओएलटीई) लिन फोरजी आवश्यक हुनेछ ।
यता निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि थ्रीजी सेवा विस्थापनलाई तीव्र बनाएको छ । कम्पनीले असार २२ गतेदेखि पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरबाट थ्रीजी सेवा बन्द गरिसकेको जनाएको छ ।
नेपाल टेलिकमले यसअघि नै टुजी सेवा पनि क्रमश: बन्द गर्ने योजना सार्वजनिक गर्दै ग्राहकलाई फोरजीमा स्तरोन्नति गर्न आग्रह गर्दै आएको छ । यद्यपि पछिल्लो तथ्याङ्कले अझै लाखौँ ग्राहक पुरानै टुजी प्रविधिमै निर्भर रहेको देखाएको छ ।
आईसीटी समाचार