काठमाडौं । एनसेलले आजदेखि इलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानीय तहमा थ्रीजी (3G) सेवा बन्द गरेको छ । कम्पनीले फोरजी (4G) नेटवर्क र ‘भ्वाइस ओभर लङ टर्म एभोल्युसन’ (VoLTE) सेवालाई थप सुदृढ बनाउने योजनाअन्तर्गत चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्दै गएको हो ।
कम्पनीका अनुसार थ्रीजी नेटवर्क हटाउँदै फोरजीमा आधारित भोल्टे सेवामार्फत अझ स्पष्ट भ्वाइस कल र गुणस्तरीय मोबाइल ब्रोडब्यान्ड सेवा उपलब्ध गराइनेछ । हाल देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म फोरजी सेवा पुगिसकेको एनसेलले जनाएको छ ।
थ्रीजी सेवा बन्द गरिएका क्षेत्रमा रहेका ग्राहकहरूले फोरजी चल्ने मोबाइल, फोरजी सिम वा ई-सिम प्रयोग गरी भोल्टे सेवा सक्रिय गर्नुपर्नेछ । कतिपय ग्राहकसँग फोरजी सक्षम मोबाइल र सिम भएपनि थ्रीजीमै सेवा प्रयोग गरिरहेकाले आवश्यक सेटिङ परिवर्तन गर्न कम्पनीले आग्रह गरेको छ ।
यस चरणमा तीन प्रदेशका चार जिल्लामा रहेका २१५ भन्दा बढी टावरबाट थ्रीजी सेवा हटाइएको छ । दाङका घोराही, बबई, शान्तिनगर, तुलसीपुर र लमही, इलामका देउमाई, फाकफोकथुम, इलाम, माई, माईजोगमाई, रोङ र सूर्योदय, पाँचथरका फालेलुङ, फाल्गुनन्द, कुम्मायक, मिक्लाजुङ र फिदिम तथा पर्साका बहुदरमाई, वीरगञ्ज, छिपहरमाई, धोबिनी, जगरनाथपुर, जिराभवानी, कालिकामाई, पर्सागढी, पोखरिया, सखुवा प्रसौनी र ठोरीलगायत स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिएको हो ।
एनसेलले थ्रीजी बन्द हुनु नयाँ प्रविधितर्फको स्वाभाविक रूपान्तरण भएको उल्लेख गर्दै ग्राहकहरूले अब उही शुल्कमा अझ गुणस्तरीय भ्वाइस कल र उच्च गतिको डेटा सेवा अनुभव गर्न सक्ने जनाएको छ ।
भोल्टे सेवा सक्रिय गर्न ग्राहकले *123*11# डायल गर्न सक्नेछन् । सेवा सक्रिय भएपछि मोबाइलको सेटिङमा गएर VoLTE विकल्प पनि अन गर्नुपर्ने कम्पनीले जनाएको छ । भोल्टे सेवा प्रयोगका लागि फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिम वा ई-सिम तथा फोरजी नेटवर्क उपलब्ध हुन आवश्यक छ ।
भोल्टेसम्बन्धी थप जानकारी एनसेल एप तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार