च्याटजीपीटी यस वर्षको एकदमै चर्चित विषयहरु मध्यको एक हो । तर यस कम्पनीको गोपनीयता नीति र डाटा भण्डारणको बारेमा पनि प्रश्न उठेको छ । केही समय अघि, इटालीले यसको गोपनीयता र डेटा सुरक्षामा प्रश्न उठाउँदै च्याटजीपीटीलाई प्रतिबन्ध लगाएको थियो । तर, पछि यो मुद्दा समाधान भएको थियो ।
इटाली बाहेक अन्य देश र प्राविधिक विशेषज्ञहरूले पनि च्याटजीपीटीको डाटा भण्डारण र यसको दुरुपयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । के च्याटजीपीटी साँच्चै हाम्रो गोपनीयताको लागि खतरा हो? आज हामी तपाईलाई बताउँछौं कि यसले हाम्रो कुन डाटा सङ्कलन गर्छ ।
च्याटजीपीटीले कुन डाटा भण्डार गर्छ?
च्याटजीपीटी गत वर्ष नोभेम्बरमा लन्च गरिएको थियो र यसको सुरुवातदेखि नै यसको चर्चा विश्वभर भइरहेको छ । तर जब पनि साइबर संसारमा केहि नयाँ हुन्छ, सबैभन्दा ठूलो चिन्ता डाटाको सुरक्षानै हो । अब प्रश्न उठ्छ कि च्याटजीपीटीले कुन डाटा स्टोर गर्छ? हामीले च्याटजीपीटीलाई यसबारे सोध्दा एआइले हामीलाई तीनवटा कुरा बताएको थियो ।
१ च्याटजीपीटीमा लग इन गर्दा, अकाउन्टको जानकारी र भुक्तानी विवरणहरू प्रदान गर्नुपर्छ (यदि तपाईंले प्रिमियम योजना लिनुभएको छ भने) ।
२. तपाईंले च्याटबोटबाट सोध्नुभएको जानकारी
३. तपाईंको ब्राउजर विवरणहरू जस्तै आइपी एड्रेस, स्थान, कुकीज र अन्य विवरणहरू ।
यी स्टोर गरिएका विवरणहरू मध्ये धेरै जसो चिन्ताको विषय होइनन् । अधिकांश वेबसाइटहरूले यी विवरणहरू राख्छन् । च्याटजीपीटी प्रयोग गर्दा तपाईले कुन व्यक्तिगत जानकारी प्रविष्ट (इन्टर) गर्नुहुन्छ त्यो वास्तविक चिन्ता हो ।
च्याटजीपीटीको गोपनीयता नीतिमा यो स्पष्ट रूपमा लेखिएको छ कि तपाईले यसमा प्रविष्ट गर्ने जुनसुकै जानकारी जस्तै सम्पर्क विवरण, अपलोड गरिएको कुनै फाइल, प्रतिक्रिया, वार्तालापको क्रममा दिइएको जानकारी आदि, यसले भण्डार गर्दछ ।
यसबाहेक, कम्पनीले भनेको छ कि तपाईंले च्याटजीपीटीमार्फत गर्नुभएका सबै कामहरू कम्पनीमा काम गर्ने एआई प्रशिक्षकहरूले च्याटबोट सुधार गर्नलाई अध्ययन गर्न सक्छन् ।
हाम्रो च्याटजीपीटीको डाटा कसले हेर्न सक्छ ?
धेरै व्यक्तिहरूले तपाइँको व्यक्तिगत जानकारी कम्पनीको गोपनीयता नीति अनुसार हेर्न सक्छन्, जस्तै
१. विक्रेता र सेवा प्रदायकहरू
२ डाटा ट्रान्सफर सम्बन्धी ओपनएआइसँग सम्झौता भएका कम्पनीहरू
३. ओपनएआइका सहायक कम्पनीहरू
४. कानूनी अधिकारीहरू
५. एआई ट्रेनर
च्याटजीपीटीलाई आफ्नो डाटा भण्डारण गर्नबाट कसरी रोक्ने?
च्याटजीपीटीलाई डाटा भण्डारण गर्नबाट रोक्नको लागि तपाईंले पालना गर्नुपर्ने केही सरल चरणहरू छन् ।
१. सबै भन्दा पहिले बायाँ छेउमा तीन थोप्लाहरू (ह्यामबर्गर मेनु) मा क्लिक गर्नुहोस्
२. यहाँ तपाइँ सेटिङमा जानु पर्छ ।
३. यसपश्चात डेटा कन्ट्रोलमा जानुहोस् र च्याट हिस्ट्री टगल बन्द गर्नुहोस् ।
च्याटजीपीटीले धेरै प्रयोगकर्ता जानकारी सङ्कलन गर्दछ । धेरै जसो जानकारी आधारभूत हो, जुन प्रत्येक वेबसाइटले संकलन गर्दछ । यद्यपि, केही जानकारीहरू धेरै संवेदनशील हुन सक्छन् ।
यस्तो अवस्थामा, प्रयोगकर्ताहरूले च्याटजीपीटी मात्र होइन अन्य च्याटबटहरू पनि प्रयोग गर्दा होसियार हुनुपर्छ । हाम्रो सल्लाह हो कि तपाईंले आफ्नो व्यक्तिगत जानकारी अनलाइन प्लेटफर्महरूमा साझा गर्नु हुँदैन् ।