कीवर्डहरू -

वेबसाइट कसरी बनाउने ?

वेबसाइट कसरी बनाउने ?

कुनै पनि वेब विकास, डिजाइन वा कोडिङ्गको बारेमा केही पनि नजानेर वेबसाइटको निर्माण र डिजाइन गर्न सकिन्छ । तपाईं आफ्नो वा आफ्नो व्यवसायको लागि एउटा वेबसाइट बनाउन चाहनुहुन्छ भने सही उपकरण र स्रोतहरूको प्रयोग गरेर सजिलै गर्न सक्नुहुन्छ ।

यो स्टेप–बाई–स्टेप गाइडले तपाईंलाई फ्रील्यान्सर, एजेन्सी वा वेबसाइट निर्माताका लागि पैसा खर्च नगरी वेबसाइट बनाउन मद्दत गर्नेछ ।  वेबसाइट बनाउनको लागि तपाईंलाई निम्न चीजहरूको आवश्यकता पर्छ ।

  • डोमेन नाम (तपाईंको कस्टम वेब ठेगाना)
  • वेबसाइट होस्टिंग (तपाईंको वेबसाइटलाई होस्ट गर्ने सेवा)
  • वर्डप्रेस (वेबसाइट निर्माण गर्ने प्लेटफर्म)

डोमेन नाम 

वेबसाइट बनाउनका लागि तपाईंलाई सबैभन्दा पहिले एक डोमेन नामको आवश्यकता पर्छ । डोमेन नाम तपाईंको वेबसाइटको नाम र ठेगाना हो । जस्तै ictsamachar.com एउटा डोमेन नाम हो । यो नाममा गएपछि आईसीटी समाचारको बारेमा थाहा पाइन्छ ।

डोमेन नामको शुल्क प्रतिवर्ष १० डलर देखि ५० डलरसम्म पर्छ । सामान्य वेबसाईटको मूल्य ट्याग लगभग १५ डलर हुन्छ । आवश्यकता अनुसार डोमेनका लागि एक्टेन्सन छनौट गर्न सकिन्छ ।

नेपालमा पनि नेस्ट नेपाल, प्रभु होस्ट, बबाल होस्ट, वेब होस्ट नेपाल, हिमालयन होस्ट, कैलाश क्लाउड, ई-होस्टिङ सर्भर लगायतका माध्यमको प्रयोग गरी डोमेन खरिद गर्न सकिने छ । यी माध्यमबाट डोमेन खरिद गर्नका लागि ईसेवा, खल्ती वा फोनपेबाट पैसा ट्रान्सफर समेत गर्न सकिने छ । 

वेब होस्टिङ

डोमेन नाम राख्नुु बाहेक तपाईंलाई वेबसाइट होस्टिंग (वेब होस्टिंग) को पनि आवश्यकता पर्छ । वेब होस्टिंग एक यस्तो सेवा हो जसले तपाईंको वेबसाईट फाइल्स (कन्टेन्ट) लाई एक सेक्योर्ड सर्भरमा होस्ट र संग्रहित गर्छ जुन सधैं चलिरहेको हुन्छ ।

नयाँ वेबसाइटका लागि सस्तो र विश्वसनीय वेब होस्टिंगको लागत सामान्यतः ३ डलर देखि १० डलरप्रति महिना हुन्छ । जस्तै आईसीटी समाचार डटकम खोल्ने बित्तिकै देखाउने कन्टेन्टहरू कुनै एउटा होस्टिङ सेवा प्रदायकको होस्टिङ गरिएको हुन्छ । त्यसपछि मात्रै तपाईहरूलाई देखाउँछ । 

नेपालमा नेस्ट नेपाल, प्रभु होस्ट, बबाल होस्ट, वेब होस्ट नेपाल, हिमालयन होस्ट, कैलाश क्लाउड, ई-होस्टिङ सर्भर लगायतका माध्यमको प्रयोग गरी डोमेनसँगै होस्टिङ पनि खरिद गर्न सकिने छ । यी माध्यमबाट होस्टिङ खरिद गर्नका लागि ईसेवा, खल्ती वा फोनपेबाट पैसा ट्रान्सफर समेत गर्न सकिने छ । 

वर्डप्रेस

डोमेन र होस्टिंग भएमा वर्डप्रेसको प्रयोग गरी वेबसाइट बनाउन सकिन्छ । वर्डप्रेस सबैभन्दा लोकप्रिय वेबसाइट निर्माण प्लेटफर्म हो, जसको उपयोग इन्टरनेटमा सबै वेबसाइटहरूको कुल ३५ प्रतिशतद्वारा भइरहेको छ ।

वर्डप्रेसको इन्स्टल सामान्यतः तपाईंको वेब होस्टिंग सेवाको माध्यमबाट गर्न सकिन्छ । वेबसप्रेसमा भएका थिम र प्लगिनको प्रयोग गरेर आफुलाई आवश्यक पर्ने वेबसाइट डिजाइन गर्न सकिने छ । 

एक पटक डोमेन नाम र वेब होस्टिंङ खरिद गरेपछि वर्डप्रेस इन्स्टल गर्नुपर्छ । वेब होस्टिङमा गएर एकै क्लिकमा वर्डप्रेस इन्स्टल गर्न सकिने छ । 

त्यसपछि त्यहाँ भएको निःशुल्क थिम प्रयोग गरेर वा खरिद गरेको थिम अपलोड गरेर साइट डिजाइन गर्न सकिने छ । यस बाहेक आवश्यक पर्ने प्लगिन पनि निःशुल्क वा सःशुल्क प्रयोग गर्न सकिने छ । 

कोडिङ नजानेको व्यक्तिले पनि सजिलै वर्डप्रेसको प्रयोग गरी प्रोफेसनल वेबसाइट तयार गर्न सक्छ । यस बाहेक वेबसाइट बनाउने विस्तृत जानकारी युट्युब भिडियो बा गूगलमा सजिलै पाउन सक्नु हुनेछ ।