अहिले इन्स्टाग्राम रील्स सबैभन्दा लोकप्रिय सुविधामध्ये एक बनेको छ। शिक्षा, मनोरञ्जन, जीवनशैली, फिटनेस लगायतका छोटा भिडियोहरू प्रयोगकर्ताले धेरै हेर्ने गरेका छन्। रील्सले प्रयोगकर्ताको हेर्ने बानी र रुचिका आधारमा सामग्री देखाउने एल्गोरिदम प्रयोग गर्छ। तर कहिलेकाहीँ प्रयोगकर्ताले दोहोरिने वा आफ्नो रुचिसँग नमिल्ने भिडियोहरू देख्न सक्छन्। यस्तो अवस्थामा रील्स एल्गोरिदम रिसेट गर्दा अनावश्यक सामग्री हटाउन र फिडलाई ताजा बनाउन मद्दत मिल्ने बताइएको छ।
किन इन्स्टाग्राम रील्स एल्गोरिदम रिसेट गर्न आवश्यक हुन्छ?
इन्स्टाग्राम रील्सको एल्गोरिदम प्रयोगकर्ताको अन्तरक्रियामा आधारित हुन्छ। प्रयोगकर्ताले हेरेका, लाइक गरेका वा कमेन्ट गरेका भिडियोहरूले उनीहरूको रुचि निर्धारण गर्न मद्दत गर्छन्। तर कहिलेकाहीँ अनजानमा गरिएका क्लिक वा हेर्ने व्यवहारले पनि एल्गोरिदम प्रभावित हुन सक्छ। यसका कारण एउटै प्रकारका भिडियोहरू बारम्बार देखिन सक्छन्। त्यसैले रील्स एल्गोरिदम रिसेट गर्दा फिड सुधार गर्न र नयाँ तथा सम्बन्धित सामग्री हेर्न सहयोग पुग्ने बताइएको छ।
रील्स एल्गोरिदम रिसेट गर्नुपर्ने अर्को कारण प्रयोगकर्ताको बदलिँदो रुचि पनि हो। केही महिना पहिले मन पर्ने सामग्री अहिले सान्दर्भिक नहुन सक्छ। कहिलेकाहीँ प्रयोगकर्ताले मन नपर्ने वा आपत्तिजनक भिडियोहरू पनि देख्न सक्छन्। यस्तो अवस्थामा रील्स एल्गोरिदम रिसेट गर्दा फिडलाई सुधार गर्न र उपयुक्त सामग्री मात्र देखाउन मद्दत पुग्ने बताइएको छ।
इन्स्टाग्रामले एपभित्रै सुझाव गरिएको सामग्री रिसेट गर्ने विकल्प उपलब्ध गराएको छ। रील्स एल्गोरिदम रिसेट गर्न प्रयोगकर्ताले आफ्नो प्रोफाइल खोलेर माथिल्लो दायाँ कुनामा रहेको तीन-बार मेनुमा जानुपर्छ। त्यसपछि “कन्टेन्ट प्रिफरेन्स” विकल्प चयन गरी “रीसेट सजेस्टेड कन्टेन्ट” मा ट्याप गर्नुपर्छ। देखाइएको जानकारी र सर्तहरू अवलोकन गरी सहमति जनाएपछि अन्तिममा “रीसेट सजेस्टेड कन्टेन्ट” पुष्टि गर्नुपर्छ।
रीसेट गरेपछि इन्स्टाग्रामले बिस्तारै फेरि तपाईंको रुचिअनुसार सुझावहरू बनाउन थाल्छ, र पहिलाभन्दा फरक विषयका सामग्री देख्न सकिन्छ। कम्पनीका अनुसार, एकपटक रिसेट गरेपछि पहिलेको अवस्थामा फर्काउन मिल्दैन।
आईसीटी समाचार